काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आँखा स्वास्थ्यलाई प्राथमिकता दिँदै सरकार दृढतापूर्वक अघि बढिरहेको बताएका छन् । बुधबार सम्पन्न ‘इन साइट लाइभ २०३०’ अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले आँखा स्वास्थ्यलाई राष्ट्रिय स्वास्थ्य प्रणालीमा एकीकृत गर्ने दिशामा सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे ।
मन्त्री पौडेलका अनुसार विद्यालय, कार्यस्थल र समुदाय स्तरमा बलियो साझेदारी निर्माण गर्दै आँखा स्वास्थ्य पहुँचलाई थप सुदृढ बनाउने लक्ष्यसहित सरकार कार्यरत छ । उनले अन्धोपनको दरमा उल्लेखनीय गिरावट आएको तथ्य प्रस्तुत गर्दै सन् २०२२ मा ०.८४५ रहेको दर हाल घटेर ०.२८५ मा झरेको जानकारी दिए ।
मोतियाबिन्दु शल्यक्रिया कभरेजमा समेत उल्लेखनीय सुधार भएको बताउँदै मन्त्री पौडेलले सन् २०३० सम्ममा उक्त कभरेज ६५.४५ प्रतिशत पुर्याउने लक्ष्य रहेको जानकारी गराए । सार्वजनिक-निजी साझेदारी र सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रममार्फत देशभर आँखा स्वास्थ्य सेवाको पहुँच विस्तार भइरहेको उनले उल्लेख गरे ।
नेपालले सन् २०२६ मा आँखा स्वास्थ्यसम्बन्धी विश्वव्यापी शिखर सम्मेलनको आवाजमा दृढ समर्थन गर्ने प्रतिवद्धता समेत जनाएको छ । मन्त्री पौडेलले ‘सबैको आँखाको हेरचाहमा पहुँच सुनिश्चित गर्न सरकार निरन्तर काम गरिरहेको छ,’ भन्दै सबै सरोकारवाला निकायको सहकार्य आवश्यक रहेको औंल्याए ।




