काठमाडौं । सुनसरीको धरानबाट गत वैशाख १२ गते हराएको एक यात्रुबाहक बस विराटनगरमा फेला परेको छ । चोरी भएको बसलाई टुक्र्याएर पाटपुर्जा बिक्री गर्न लागिएको अवस्थामा प्रहरीले बरामद गरेको हो ।
धरानको बरगाछीबाट बेपत्ता भएको प्रदेश १-०२-००१-९७४९ नम्बरको बस विराटनगर-१२ को मंगलबारे चौक नजिक रोकेर टुक्र्याउँदै कवाडीमा बिक्रीको तयारी भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलबाट प्रहरीले बसका चक्काको भित्री फलामको रिङ, इन्जिनलगायत महत्वपूर्ण अंशहरू बरामद गरेको छ ।
बस टुक्र्याउने कार्य विराटनगर-६ मा गीतादेवी साहले सञ्चालन गर्दै आएको कवाडी गोदाममा भइरहेको थियो । तर प्रहरी गोदाममा पुग्दा साह फरार भइसकेकी थिइन् । प्रहरीका अनुसार उनको ज्वाई दिपेन्द्र साह पनि घटनापछि फरार छन् ।
यस घटनाबारे प्रहरी अनुसन्धान अघि बढाइएको छ। चोरी भएको बस पूर्वपश्चिम राजमार्गको खोर्साने हुँदै विराटनगर प्रवेश गरेको देखिने सीसीटीभी फुटेज घटनाको पुष्टि गर्ने आधार बनेको प्रहरीको भनाइ छ । मंगलबार दिउँसो मंगलबारे क्षेत्रमा बस बेवारिसे अवस्थामा फेला परेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।
बस पहाडी रुटमा चल्ने यात्रुबाहक रहेको र अगाडिको सिसाको माथिल्लो भागमा ‘सिद्धदेवी यातायात’ तथा तल्लो भागमा ‘याक्थुङ यातायात’ लेखिएको प्रहरीले जनाएको छ । बस चोरीमा संलग्न गिरोहको खोजी तीव्र पारिएको जनाइएको छ ।




