काठमाडौं । यस वर्षको अम्बिका देवी ओली स्मृति राष्ट्रिय साहित्य तथा पत्रकारिता पुरस्कार पत्रकार बिनु सुवेदीलाई प्रदान गरिने भएको छ । प्रतिष्ठानले परम्परागत पितृसत्तात्मक सोच चिर्दै जोखिमपूर्ण राजनीतिक पत्रकारितामा महिलाको पहिचान स्थापित गराएको उल्लेखनीय योगदानका लागि सुवेदीलाई सम्मान गर्न लागिएको जनाएको छ ।
रुद्र-गौरी श्री-अम्बिका ओली प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ, “महिला विषय नमानिने कठिन र जोखिमपूर्ण राजनीतिक बिटको पत्रकारितामा सुवेदीको उल्लेखनीय योगदानलाई सम्मान गर्दै यो पुरस्कार प्रदान गरिनेछ।” पुरस्कार राशि १ लाख ११ हजार १११ रुपैयाँ तोकिएको छ।
त्यस्तै, गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार ‘महिलाका लागि मानव अधिकार एकल महिला समूह’लाई प्रदान गरिनेछ। संस्थापक लिली थापाको नेतृत्वमा एकल महिलाको हक र अधिकारका क्षेत्रमा ३० वर्षदेखि क्रियाशील संस्थाले महिला सशक्तीकरणका क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आएको छ। यस पुरस्कारको राशि पनि १ लाख ११ हजार १११ रुपैयाँ नै रहेको छ।
गैरराजनीतिक, गैरनाफामूलक तथा सामाजिक सेवामा समर्पित उक्त प्रतिष्ठानले विगतदेखि नै कृषि, महिला सशक्तिकरण, साहित्य, पत्रकारिता र बालअधिकारका क्षेत्रमा सक्रिय व्यक्तित्वहरूलाई प्रोत्साहन गर्दै आएको छ। २०७९ सालदेखि प्रतिष्ठानले राष्ट्रको समृद्धि र अन्तर्राष्ट्रिय पहिचानमा योगदान दिने व्यक्तित्वलाई ५ लाख रुपैयाँ राशिको ‘प्रज्ञान पुरस्कार’द्वारा सम्मान गर्ने गरेको छ।
यसअघि प्रतिष्ठानले हिमालय शमशेर जबरा र डा. सन्दुक रुइतलाई स्व. श्रीप्रसाद ओली राष्ट्रिय अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कारबाट, महारानी झोडा झापाको साना किसान कृषि सहकारीलाई रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कारबाट तथा अन्य विभिन्न व्यक्तित्व र संस्थालाई विभिन्न विधामा पुरस्कृत गरिसकेको छ।
यस वर्ष ‘देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार’ ११ वर्षीया अभियन्ता सदीक्षा पण्डित र १४ वर्षीय साहित्य र चित्रकला स्रष्टा त्रिदेव पौडेललाई संयुक्त रूपमा प्रदान गरिनेछ। समाज सुधार र सिर्जनात्मक क्षेत्रमा सानै उमेरमा देखाएको सक्रियताका लागि उनीहरूलाई यो पुरस्कार प्रदान गर्न लागिएको हो। पुरस्कार राशी १ लाख १ हजार १११ रुपैयाँ रहेको छ।
पुरस्कार वितरण समारोह वैशाख २० गते नेपाल पर्यटन बोर्ड, प्रदर्शनी मार्गस्थित सभाकक्षमा आयोजित हुनेछ । उक्त कार्यक्रममा प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगर प्रमुख अतिथि रहने प्रतिष्ठानले जनाएको छ ।




