पत्रकार कार्कीमाथि भएको आक्रमणप्रति सञ्चारिका समूह नेपालद्वारा गहिरो खेद प्रकट

काठमाडौं । नयाँबानेश्वरमा जारी शिक्षक आन्दोलनको समाचार संकलनका क्रममा प्राइम टेलिभिजनकी पत्रकार सविना कार्की घाइते भएकी छन् । सुरक्षाकर्मीले प्रहार गरेको पानीको फोहोर आँखामा लाग्दा कार्की घाइते भएकी हुन् । हाल उनको तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ ।

महिला पत्रकारमाथि पेशागत जिम्मेवारी निर्वाह गर्ने क्रममा भएको आक्रमणप्रति सञ्चारिका समूह नेपालले गहिरो दुःख र खेद व्यक्त गरेको छ । समूहले यस घटनालाई केवल एक महिला पत्रकारमाथिको आक्रमण मात्र नभई प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र महिला मानव अधिकारप्रतिको गम्भीर उल्लङ्घनको रूपमा समेत व्याख्या गरेको छ ।

सञ्चारिका समूह नेपालले पत्रकारहरूलाई फिल्डमा निडर र सुरक्षित वातावरणमा काम गर्न पाउनुपर्नेमा जोड दिएको छ । घाइते पत्रकार कार्कीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै समूहले सरकारसँग उनको उपचार, क्षतिपूर्ति र सुरक्षाको सुनिश्चितताको माग गरेको छ ।

सञ्चारिका समूह नेपालकी महासचिव राधा खनालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आगामी दिनमा सबै पत्रकारहरू निर्धक्क भएर फील्डमा काम गर्न सकून् भन्ने वातावरण निर्माणका लागि सरकारले आवश्यक कदम चाल्नुपर्छ ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री