थारु समुदायका लागि राहत : सिकलसेल र थालसिमियाविरुद्ध निःशुल्क भ्याक्सिन वितरण सुरु

काठमाडौं । थारु समुदायमा प्रचलित वंशाणुगत रोगहरू सिकलसेल एनिमिया र थालसिमियाविरुद्धको निःशुल्क भ्याक्सिन वितरण प्रक्रिया सुरु गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको पहलमा भारत सरकारबाट प्राप्त उक्त भ्याक्सिन शुक्रबार एक कार्यक्रममार्फत हस्तान्तरण गरिएको हो।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वास्थ्य मन्त्री पौडेललाई भ्याक्सिन सहयोग हस्तान्तरण गर्दै यो सहयोग दुई देशबीचको मित्रता र सहकार्यको उदाहरण भएको बताए।

मन्त्री पौडेलले यसअघि थारु समुदायको प्रमुख स्वास्थ्य समस्या पहिचान गर्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा भेरी अस्पतालमा विशेष वार्ड स्थापना गर्ने निर्णय गरेका थिए। साथै, बिरामीहरूलाई निःशुल्क प्रतिरोधी औषधि उपलब्ध गराउने घोषणा गर्दै भारत सरकारसँग औषधि सहयोगका लागि आग्रह गरेका थिए।

भारत भ्रमणको क्रममा भारतीय स्वास्थ्य मन्त्री जेपी नड्डासँग भएको वार्तापछि, भारत सरकारले झण्डै चार लाख अमेरिकी डलर बराबरको भ्याक्सिन उपलब्ध गराएको हो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, प्राप्त भ्याक्सिनहरू सिकलसेल र थालसिमियाबाट प्रभावित क्षेत्रका सरकारी अस्पतालमार्फत वितरण गरिनेछ। बाँके, बर्दिया, कैलाली, दाङ लगायत थारु समुदाय बहुल जिल्लाहरूमा वितरण केन्द्रित हुनेछ।

सेती प्रादेशिक अस्पताल, भेरी अस्पताल, टिकापुर अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायत संघीय, प्रदेश तथा स्थानीय अस्पतालहरूमा भ्याक्सिन आपूर्ति गर्ने तयारी भइरहेको प्रवक्ता बुढाथोकीले बताए।

“जहाँ बिरामी छन्, त्यहाँ भ्याक्सिन पुर्‍याइन्छ,” उनले भने, “यसले रोगबाट जोगिन बिरामीको प्रतिरोध क्षमता वृद्धि गर्न मद्दत पुर्‍याउनेछ।”

मन्त्री पौडेलले थारु समुदायका लागि छोटो समयमै प्रभावकारी उपचार सहायता र औषधि उपलब्ध गराउन सफल भएकोमा सन्तोष व्यक्त गर्दै, “यो प्रयासले समुदायमा विश्वास जगाउनेछ र भविष्यमा थप पहललाई बल पुग्नेछ,” भने।

उक्त भ्याक्सिनहरू स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन केन्द्र बुटवल, लुम्बिनीमा भण्डारण गरिनेछ। हालसम्म यी रोगको प्रत्यक्ष उपचार औषधि उपलब्ध नभए पनि भ्याक्सिनले निमोनिया, मेनिन्जाइटिसजस्ता संक्रमणबाट जोगाउन महत्त्वपूर्ण भूमिका खेल्ने जनाइएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री