वैदेशिक रोजगार जीवन बीमा पुलको प्रबन्धक बन्ने जिम्मेवारी हिमालयन रिइन्स्योरेन्सलाई

काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको जीवन बीमा व्यवस्थापनको जिम्मेवारी अब हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडले लिएको छ। नेपाल बीमा प्राधिकरणले कम्पनीलाई वैदेशिक रोजगार जीवन बीमा पुलको प्रबन्धकका रूपमा नियुक्त गरेको हो।

प्राधिकरणका सूचना अधिकारी निर्मल अधिकारीका अनुसार, सामूहिक बीमा कोष तथा खाता सञ्चालनको जिम्मा अब हिमालयन रिलाईले पाउनेछ। चैत ४ गते प्राधिकरणमा भएको छलफलमा दुई पुनर्बीमक कम्पनीबीच आपसी सहमतिमा वैदेशिक रोजगार बीमाबाट प्राप्त रकम जम्मा गर्ने कोष र खाता सञ्चालनको जिम्मेवारी हिमालयन रिलाईलाई दिने निर्णय भएको उनले जानकारी दिए।

बीमा प्राधिकरणको निर्देशन २०८१ अन्तर्गत, प्रत्येक पुनर्बीमा कम्पनीले पालैपालो चार वर्षका लागि बीमा कोष प्रबन्धकको रूपमा कार्य गर्नुपर्ने व्यवस्था छ। यसै अनुरूप, आगामी चार वर्षका लागि हिमालयन रिइन्स्योरेन्सले बीमा पुल सञ्चालन गर्ने जिम्मा पाएको हो।

प्राधिकरणले जीवन बीमा कम्पनीहरू र अन्य पुनर्बीमकहरूलाई यस निर्णय कार्यान्वयन गर्न आवश्यक तयारी र समन्वय गर्न पनि निर्देशन दिएको छ। उक्त निर्णयबाट वैदेशिक रोजगारीमा जाने श्रमिकको बीमा सेवा प्रणाली अझ व्यवस्थित, पारदर्शी र प्रभावकारी हुने अपेक्षा गरिएको छ, जसले श्रमिकहरूको सुरक्षामा थप विश्वास सिर्जना गर्ने विश्वास गरिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री