विराटनगर । पाथीभरा केबलकार निर्माणमा लगानी गरेका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय संस्कृति र परम्पराको संरक्षण गर्दै परियोजना अगाडि बढाउने प्रतिबद्धता जनाएका छन्।
कोसी प्रदेश लगानी सम्मेलनको अवसरमा महासंघको कोसी प्रदेश कार्यालयले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा ढकालले भाषा, धर्म र परम्पराप्रतिको संवेदनशीलता उल्लेख गर्दै सांस्कृतिक पक्षको सम्मानका साथ विकास सम्भव हुने बताए।
‘संस्कृति जोगाएर अगाडि बढ्न हामी तयार छौँ,’ उनले भने, ‘कम्पनीको तर्फबाट पनि संवादमार्फत सहमति जुटाएर अघि बढ्न सकिन्छ ।’
उनले पहिचानवादी पक्षले उठाएका सरोकारहरूलाई ध्यानपूर्वक सुन्ने र समाधानका लागि छलफल गर्न सकिने स्पष्ट पारे। ढकालले बिहीबार सार्वजनिक गरिएको पहिचान पक्षको विज्ञप्तिलाई सकारात्मक रूपमा लिँदै विकास, रोजगारी र सांस्कृतिक संरक्षणमा स्थानीयको सहभागिता सुनिश्चित गरिने उल्लेख गरे।
सोही कार्यक्रममा कोसी प्रदेशका कृषिमन्त्री खगेनसिंह हाङगामले ताप्लेजुङबासी विकास विरोधी नभएको जनाउँदै, “स्थानीयको धर्म, संस्कृति र पहिचानमा प्रभाव पर्ने खालको विकास अघि बढाउनु पूर्व विस्तृत अध्ययन आवश्यक छ,” भने।
उनले पाथीभरा केबलकार निर्माणसम्बन्धी हाल देखिएको विवादप्रति संकेत गर्दै थपे, ‘रगतले पोतेर गरिने विकास चाहिँ विकास होइन ।’
पहिचानवादी पक्षको विरोधपछि सर्वोच्च अदालतले हालका लागि पाथीभरा केबलकार निर्माण कार्य स्थगन गर्न आदेश दिएको छ ।



