काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारी योजना छनोटमा परिणाममुखी सोच अपनाउनुपर्ने आवश्यकता औंल्याएका छन्।
बुधवार सिंहदरबारमा आयोजित प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै उनले उत्पादन र गतिशीलतामा टेवा नपुर्याउने आयोजनाहरूमा खर्च कटौती गर्न सरकारलाई सुझाव दिए।
डा. महतले प्राथमिकताबाहिर रहेका र प्रतिफल दिन नसक्ने आयोजनाहरू हटाएर जनसङ्ख्या घनत्व, पर्यटन सम्भावना र उत्पादन क्षमताका आधारमा आयोजना छनोट गर्नुपर्ने बताए।
“हामीले प्रस्ताव गर्ने आयोजनाहरूमा परिणाम देखिनुपर्नेछ,” उनले भने, “जहाँ खासै प्रभाव देखिँदैन, त्यस्ता आयोजना हटाउनुपर्छ। सडक आयोजनामा यस्ता धेरै उदाहरण छन्, जसले न मोबिलिटीमा सहयोग गर्छ न त उत्पादनमै।”
उनले जनघनत्व बढी, पर्यटनको सम्भावना उच्च र उत्पादनको अवसर रहेको क्षेत्रहरूमा कनेक्टिभिटी सुधार्ने आयोजनाहरूलाई सम्पूर्ण बजेटको साथमा प्राथमिकता दिनुपर्ने धारणा राखे।
डा. महतको भनाइमा, यस्तो रणनीतिले नतिजा दिन्छ, रोजगारी सृजनामा मद्दत गर्छ र समग्र आर्थिक गतिशीलता पनि बढाउँछ।
उनले निष्कर्षस्वरूप भने, “यदि प्रतिफलमुखी आयोजनामा मात्रै लगानी गरियो भने मात्र त्यसले दीर्घकालीन प्रभाव पार्न सक्छ।”




