काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित उद्यानमा जारी ‘खाना महोत्सव’ नेपाली परम्परागत, मौलिक तथा रैथाने खानाको सांस्कृतिक उत्सव बनेको छ। महोत्सवमा ‘सेफ नेपाल’ फुड रियालिटी शोबाट चर्चामा आएकी इङ्वा सुब्बाले याङ्बेन, कागुनो, मकैको खीर, सिस्नु सुप र च्याउका विशेष परिकार पस्केकी छन्।
नेवारी परिकारहरु लिएर भिलेज क्याफेकी पुनमाया डङ्गोल, अर्गानिक अन्नबालीसहित १५० मौरी घारकी संरक्षणकर्मी सीता आचार्य र ओखलढुंगे डेरीका गोपाल तिमिल्सनाजस्ता सहभागीहरूले आ–आफ्ना मौलिक उत्पादन प्रदर्शन गरेका छन्।
५० वटा स्टल रहेको महोत्सवमा ४० स्टलमा विविध जातीय खाना, पाँच स्टलमा रैथाने बाली तथा अन्यमा पर्यटन जानकारी राखिएको छ। अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी नेपालका महासचिव गिरीराज भट्टका अनुसार महोत्सव नेपाली पाककलाको प्रतिभा, विविधता र सम्भावनाको उज्यालो चित्र हो। नेपालको स्वाद, परम्परा र पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्य बोकेको महोत्सवमा उपस्थिति उल्लेखनीय छ।



