काठमाडाैँ । आयुष्मान देशराज जोशीका भाई आशिरमान देशराज जोशी अभिनित सिनेमा ‘दि ब्रेकअप’ अब सिनेमा क्याप्टनेसँगै हलमा लाग्ने भएको छ। यसअघि २७ पुसमा प्रदर्शन मिति तय गरेको सिनेमा अब आगामी फागुन १७ मा रिलिज हुने निर्देशक हेमराज बिसीले जानकरी दिए।
पूर्व निर्धारित मिति आउन एक महिना मात्रै पनि बाँकी छँदा सिनेमाको प्राविधिक काम नसकिएको भन्दै निर्माण टिमले प्रदर्शन हेरफेर गरेको विसीले बताए।
निर्देशक बिसीले सिनेमामा समावेश हुने २० प्रतिशत भिएफएक्सको काम सक्न समय अभाव भएको तथा आवश्यक प्रचार प्रसारमा समय निकाल्न नसकेकोले सिनेमाको प्रदर्शन मिति सारिएको जानकारी दिए।
रोचक कुरा के छ भने ‘होस्टेल’बाट अनमोललाई डेब्यू दिएका तथा अनमोलको गडफादरको उपमा पाएका हेमराज निर्देशित सिनेमा दि ब्रेकअप र क्याप्टेन बीचको लडाइँ रोचक हुने अनुमान गरिएको छ।
यस अघि अनमोलको सिनेमा क्याप्टेनको प्रदर्शन मितिमा यस अघि हिट भएको सिनेमा जात्राको सिक्वेल जात्रै जात्राको भिडन्त हुने लगभग पक्कापक्की भएको थियो। सिनेमाका मुख्य अभिनेता विपिन कार्की मोटरसाइकल दुर्घटनामा परेसँगै सिनेमा जात्रैजात्राको काम रोकिएको छ। जात्रै जात्रा फागुन १७ मा नआउने निर्माण पक्षको भनाई छ।
क्याप्टेनको प्रदर्शन मितिमा दि ब्रेकअप आउने भएको हो। ‘दि ब्रेकअप’मा आशिरसँगै शिल्पा मास्के, इच्छा कार्की, सरोज खनाल, रेमनदास श्रेष्ठ पनि मुख्य भूमिकामा छन्। निर्देशक बिसीसँगै रुपक थापा, दीपक खतिवडा र रेणु राणाले सो फिल्म निर्माण गरेका हुन्।
सुरेन्द्र पौडेलको सम्पादन रहेको फिल्मको छायाँकन नरेन्द्र मैनालीले गरेका छन्। नेपाल र अष्ट्रेलियामा छायाँकन गरिएको यो फिल्म यसअघि रिलिज ‘आज हाम्रो’ बोलको गीत हिट लिस्टमा छ भने ‘हरपल’ बोलको गीतले पनि लोकप्रियता बढाउँदै छ।




