महानगर प्रहरी बलका प्रमुख पाण्डेलाई निलम्बन गर्न माग

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँमाथि भएको दुर्व्यवहारका विषयमा सत्यतथ्य छानबिन गर्दै दोषीमाथि कडा कारबाहीको माग उठेको छ।

गत चैत्र २१ गते गुरागाईँलाई कार्यालय प्रवेश गर्न अवरोध गर्ने कार्यमा महानगर प्रहरी बलका प्रमुख राजु पाण्डे नेतृत्वका सुरक्षाकर्मी संलग्न रहेको आरोप लागेपछि पाँच कर्मचारी तथा पेसागत संगठनले उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण गराएका हुन्।

बिहीबार ती संगठनहरूले नगर कार्यपालिकामा ११ बुँदे ज्ञापनपत्र बुझाउँदै घटनाको निष्पक्ष छानबिनका लागि तीन दिनभित्र अधिकार सम्पन्न समिति गठन गर्न माग गरेका छन्।

ज्ञापनपत्रमा महानगर प्रहरी बलका प्रमुख पाण्डेलाई तत्काल निलम्बन गरी छानबिन सहज बनाइनुपर्ने उल्लेख गरिएको छ।

“महानगर प्रहरी ऐन बमोजिम अनुशासनहीन कार्यमा संलग्न प्रमुखलाई तुरुन्त निलम्बन गरेर निष्पक्ष छानबिन अघि बढाउनुपर्छ,” ज्ञापनपत्रमा भनिएको छ।

संगठनहरूले यस घटनाले महानगरभित्रको प्रशासनिक मर्यादामाथि गम्भीर प्रश्न उठाएको भन्दै, जिम्मेवार निकायले चाँडो र कडासँग कदम चाल्नुपर्ने माग गरेका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप