काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा नीतिगत अस्थिरता र सरकार परिवर्तनका कारण विगतमा बिग्रिएको व्यावसायिक वातावरण अब सुधार हुँदै गएको बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघको ५९ औँ वार्षिक साधारण सभा तथा उद्योग वाणिज्य दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारले स्थायित्व र लगानीमैत्री वातावरण निर्माणमा प्राथमिकता दिएको स्पष्ट पारे।
“सरकारको विश्वसनीयता स्थापित गर्दै, नीतिगत अस्थिरता हटाउँदै लगानी प्रवर्द्धन गर्न हामी गम्भीर छौँ,” प्रधानमन्त्री ओलीले भने, “अब अघिल्लो सरकारले ल्याएका राम्रा नीतिहरू समेत निरन्तरता पाउने छन्।”
उनका अनुसार विगतमा सरकार परिवर्तनसँगै नीति र योजना पनि बारम्बार फेरिँदा व्यवसायी क्षेत्र प्रभावित भएको थियो। अहिले भने सरकारले निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकता दिँदै अर्थतन्त्र सुदृढ बनाउने प्रयास गरिरहेको उनले बताए।
प्रधानमन्त्री ओलीले संघीयता कार्यान्वयनको प्रारम्भिक चरणमा पालिकाहरूले मनपरी कर लगाउने प्रवृत्ति देखिएको स्मरण गर्दै त्यसतर्फ सुधार भइरहेको जनाए।
“पहिला ठाउँठाउँमा बाँस तेर्साएर कर उठाउने प्रयास भयो। अधिकार छ भन्ने बुझाइले असन्तुलन ल्यायो, तर अहिले स्थितिमा सुधार आएको छ,” उनले भने।
प्रधानमन्त्री ओलीले भ्रष्टाचार न्यूनीकरण, सुशासन प्रवर्द्धन र जनसेवा सहज बनाउनेतर्फ सरकार केन्द्रित रहेको बताए। साथै, अध्यादेशमार्फत ल्याइएका नीतिहरू अर्थतन्त्र चलायमान बनाउन सहयोगी भएको उनको दाबी थियो।
कार्यक्रममा प्रधानमन्त्रीले सरकार र निजी क्षेत्रबीचको सम्बन्ध उदाहरणीय रूपमा अघि बढेको भन्दै आगामी दिनमा पनि आपसी सहकार्यमा अर्थतन्त्र अघि बढाउने प्रतिबद्धता दोहोर्याए।




