काठमाडाैं । सन् २००६ मा निर्माण कार्य थालिएको हुलाकी सडक कहिले सम्पन्न हुन्छ यकिन छैन। तराई–मधेसको मेरुदण्ड मानिएको हुलाकी सडक बनिसक्ने मिति यकिन नहुँदा विकासको आसमा रहेका सर्वसाधारण निराश छन्। त्यस्तै सडकको लागत खर्च बढेर चार गुणाभन्दा बढी पुगिसकेको छ।
सन् २००६ मा निर्माण कार्य सुरु गरेर सन् २०१४ मा सक्ने लक्ष्य लिइएको हुलाकी सडकको यतिखेरको लागत ३५ अर्ब ८७ करोड रुपैयाँभन्दा बढी पुगेको छ। त्यतिखेर (सन् २०१४ सम्म) सोही सडक करिब आठ अर्ब रुपैयाँमा बनिसक्ने अनुमान थियो। हुलाकी सडकमा भइरहेको कामको गति हेर्दा अहिलेको अनुमानित लागत अझै बढ्ने प्राविधिक बताउँछन्।
राष्ट्रिय गौरवको आयोजनाको गुरुयोजना सन् २००२ मा तयार गरिएको थियो। जुन गुरुयोजनामा झापादेखि कैलालीसम्मका २० जिल्लामा हुलाकी सडक निर्माण हुने उल्लेख छ। एक हजार ७ सय ९२ किलोमिटर लामो उक्त सडक र ती सडकमा बन्ने एक सय ४९ पुल निर्माण अबको तीन वर्षपछि गरिसक्ने अहिलेको लक्ष्य छ। हुलाकी राजमार्ग निर्माणमा जुटेका कर्मचारी भने अहिलेसम्म सडकको भौतिक प्रगति ५० प्रतिशत पनि पुग्न नसकेको बताउँछन्। नागरिक दैनिकमा खबर छ।



