काठमाडौं । हङकङमा आजदेखि सुरु भएको चार देश सम्मिलित टि२० प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । नेपालले कतारलाई ८ विकेटको भरपूर अन्तरले पराजित गर्दै शानदार प्रदर्शन प्रस्तुत गरेको हो ।
कतारले नेपालका सामु १ सय ५२ रनको लक्ष्य राखे पनि नेपालले यो लक्ष्य १७ ओभरमै २ विकेट गुमाएर पूरा गर्यो । नेपालको ओपनिङ जोडी कुशल भुर्तेल र आसिफ शेखले आक्रामक ब्याटिङ गर्दै टोलीलाई सानदार सुरुवात दिलाए । दुवैले ५ ओभरमा ८० रनको साझेदारी गरे । कुशल भुर्तेलले १९ बलमा ३८ रन जोडे, जसमा ४ चौका र ३ छक्का समावेश थिए । यस्तै, आसिफले २१ बलमा ३१ रन जोड्दै ४ छक्का प्रहार गरे, तर आठौँ ओभरको अन्तिम बलमा क्याच आउट भए ।
ओपनर आउट भएपछि नेपालको रनगति केही थमिएको थियो, तर कप्तान रोहित र बसीरले मिलेर टीमलाई जित दिलाए । कप्तान रोहितले २९ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २७ रन बनाउँदै नटआउट रहन सके, जबकि बसीरले ३३ बलमा २ चौका प्रहार गर्दै ३० रन जोडे र नटआउट रहे । कतारले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५१ रन बनायो । कतारका कप्तान इक्रमउल्लाह खानले ५२ बलमा ५४ रन जोड्दै सबैभन्दा बढी योगदान दिए, जसमा ५ चौका र २ छक्का समावेश थिए। नेपालका नन्दन यादवले उनलाई १८ औं ओभरमा बोल्ड गर्दै केन्र्सको विकेट लिएका थिए ।
नेपालले टस जितेर बलिङ रोजे र दोस्रो ओभरमै सोमपाल कामीले रिफायी थेरुभाथलाई क्याच आउट गराउँदै सफलता प्राप्त गरे । यसपछि नेपालको बलिङले राम्रो प्रदर्शन गर्दै कतारको विकेट झिक्दै गए । ललित राजवंशी र नन्दन यादवले पनि एक-एक विकेट लिएका थिए ।
नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गरिरहेका थिए, जसमा सोमपाल कामी, करण केसी, ललित राजवंशी, नन्दन यादव र गुलशन झाले १-१ विकेट लिएका थिए । आजको दोस्रो खेल हङकङ र कुवेतबीच हुनेछ र भोली नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । लिग चरणको अन्तिम खेलपछि शीर्ष दुई टोलीले शनिबार फाइनल खेल्नेछन् ।




