काठमाडौं महानगरको घुम्ती खाद्य प्रयोगशाला संचालनमा

काठमाडौं । अब बजारमा पाइने खानेकुराको गुणस्तर थाहा पाउन लामो समय कुर्नु पर्ने छैन। काठमाडौं महानगरपालिकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँगको सहकार्यमा घुम्ती (मोबाइल) खाद्य प्रयोगशालाको प्रयोग सुरु गरेको छ, जसले २४ भन्दा बढी परीक्षण गर्न सक्ने क्षमता राख्छ।

यस मोबाइल ल्याबले बजारबाट संकलित खाद्य पदार्थको नमूना सोही ठाउँमै परीक्षण गर्न सक्छ र तुरुन्तै नतिजा देखाउँछ।

मोबाइल ल्याबको पहिलो प्रयोग थापाथलीस्थित स्त्री तथा प्रसूति रोग अस्पताल र नर्भिक अस्पतालमा सञ्चालन भइरहेका क्यान्टिनहरूमा गरिएको थियो। अब यो ल्याब महानगर र विभागको संयुक्त टोलीसँगै विभिन्न स्थानमा पुग्नेछ, जहाँ खाद्य व्यवसाय सञ्चालन भइरहेका छन्। त्यहाँ खाद्य स्वच्छता तथा गुणस्तरको निरीक्षण हुनेछ, साथै संकलित नमूनाहरूको तत्काल परीक्षण गरिनेछ।

मोबाइल ल्याब अत्याधुनिक उपकरणहरूले सजिएको छ।
– फलफुल तथा तरकारीमा विषादीको अवशेष पत्ता लगाउने RPR उपकरण
– दुधमा चिल्लो, सोडा, चिनी, नुन, ग्लुकोज आदि परीक्षण गर्ने मिल्क एडल्टरेसन किट
– दुधको सोलिड नट फ्याट जाँच गर्ने ल्याक्टोमिटर
– पानीमा अमोनिया र रेसिडुअल क्लोरिन जाँच्ने वाटर एडल्टरेसन किट
– पानीको पिएच मापन गर्ने पीएच मिटर
– साथै, नमूनाको तौल जाँच्ने ब्यालेन्स, जलांश परीक्षण गर्ने मोइस्चर ब्यालेन्स र वाटर बाथ पनि प्रयोगशालामा छन्।

खाद्य अनुसन्धान अधिकृत श्रीराम न्यौपानेका अनुसार, यी सबै उपकरणहरूले प्रयोगशालालाई सुसज्जित बनाएका छन्, जसले विविध प्रकारका परीक्षणहरू सहज रूपमा गर्न सक्दछ।

खाद्य व्यवसायलाई अझ बढी सुरक्षित, स्वच्छ र उपयुक्त बनाउने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको हो। अब अनुगमन टोलीमा खाद्य प्राविधिक, सूक्ष्मजीवविज्ञ (माइक्रोबायोलोजिस्ट) तथा विज्ञहरू सहभागी हुनेछन्, जसले परीक्षणमा विश्वसनीयता थप्नेछन्।

महानगरकी खाद्य प्राविधिक भारती अधिकारीका अनुसार, यसअघि संकलन गरिएका नमूनाहरू विभागको राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालामा पठाइएको थियो र त्यसको नतिजा आउन बाँकी रहेको बताइएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री