काठमाडौं । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका-२३ स्थित भलुवाहि गाउँबाट चैत्र २४ गते सशस्त्र प्रहरीले करिब १० लाख ८ हजार रुपैयाँ बराबरको लत्ताकपडासहित गाडी नियन्त्रणमा लिएको छ ।
बा.प्र.०१-०२७ च ८५०३ नम्बरको टाटा पिकअप गाडीमा वीरगन्ज महानगरपालिका-१६ भुटनदेवी मन्दिर नजिकबाट लोड गरी जितपु-सिमरातर्फ २० बोरा लत्ताकपडा लैजान लागेको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जबाट सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बाको कमाण्डमा खटिएको सुरक्षा फौजले भन्सार छलीको कपडा र गाडी नियन्त्रणमा लिएको हो ।
गाडिलाई पिछागर्दै आएपछि भलुवाहिमा गाडी छाडेर चालक फरार भएका थिए । बरामद गरिएको सर्टिङ सुटिङको कपडा तथा साडी र पिक अप आवश्यक कारबाहीको लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ । बरामद गाडीको भन्सार दाखिला मूल्य २५ लाख र लत्ताकपडाको मूल्य १० लाख ८ हजारसहित जम्मा भन्सार दाखिला मूल्य ३५ लाख ८ हजार कायम गरी भन्सार कार्यालयमा बुझाइएको हो ।




