काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित शंकरनगर वन बिहार तथा अनुसन्धान केन्द्र (वन वाटिका)को चौथो अधिवेशनमा सत्तारूढ नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनलाई पछाडि पार्दै नेत्रविक्रम चन्द ‘विप्लव’ निकट उम्मेदवार खिमलाल पाण्डे अध्यक्षमा विजयी भएका छन् ।
पाण्डेले ३९६ मत प्राप्त गर्दै एमाले-कांग्रेस गठबन्धनका उम्मेदवार इन्जिनियर किरण खरेललाई १३५ मतको स्पष्ट अन्तरले पराजित गरे । खरेलले २३४ मत प्राप्त गरे भने राष्ट्रिय जनमुक्ति पार्टीकी टिकादेवी आलेले ३९ मत पाइन् ।
यसअघि उपाध्यक्ष रहेका पाण्डेलाई माओवादी केन्द्रले उम्मेदवारी फिर्ता लिएर समर्थन दिएको थियो । त्यस्तै, एमाले र कांग्रेस भित्रका असन्तुष्ट पक्षहरू पनि आन्तरिक रूपमा पाण्डेको पक्षमा उभिएका थिए, जसले परिणाममा स्पष्ट प्रभाव पारेको देखिन्छ ।
सचिव पदमा पनि गठबन्धनकी उम्मेदवार कमला पाण्डेलाई पराजित गर्दै कांग्रेसका बागी उम्मेदवार विदुर केसी विजयी भए । केसीले ३७९ मत प्राप्त गरे भने पाण्डेले १८८ र राष्ट्रिय जनमुक्ति पार्टीकी हिरामति थापाले ५७ मत पाएको निर्वाचन समितिका संयोजक मोहन चापागाईंले जानकारी दिए ।
उपाध्यक्ष पदमा भने कांग्रेसका आधिकारिक उम्मेदवार मिनप्रसाद देवकोटाले ३७८ मत ल्याउँदै निर्वाचित भए । उनका प्रतिस्पर्धी गठबन्धनका बागी उम्मेदवार लेखबहादुर खड्काले १३४ र राष्ट्रिय जनमुक्ति पार्टीकी चन्दा थापाले १०९ मत पाए । कोषाध्यक्षमा एमालेका मनिराम भट्टराई ३८५ मतसहित विजयी हुँदा माओवादीका सौरभ भुसालले १७५ र राष्ट्रिय जनमुक्ति पार्टीका उदलसिंह थापाले ६३ मत पाएका थिए ।
लेखा समिति सदस्यतर्फ स्वतन्त्र उम्मेदवार सन्दीप भट्टराई (३१३ मत) र गठबन्धनबाट विष्णुप्रसाद सुवेदी (२११ मत) विजयी भए । अन्य उम्मेदवारहरू मिठुमाया पौडेल, इन्दु थापा मगर, शंकर पाण्डे र सीता श्रीसले अपेक्षित मत ल्याउन सकेनन् । लेखा समिति संयोजकमा कांग्रेसका प्रदीप पराजुली निर्विरोध निर्वाचित भए ।
कार्यसमिति सदस्यतर्फ गठबन्धनबाट पाँचजना- विन्दु ढकाल, लक्ष्मण मल्ल, सरस्वती बराल, शंकर भण्डारी र पार्वती क्षेत्री निर्वाचित भए । बाँकी दुईमध्ये एकजना बागी उम्मेदवार राममाया पौडेल र अर्का माओवादी केन्द्रकी ज्योतिमाया थापा विजयी भए ।
शंकरनगर सामुदायिक वन क्षेत्रभित्र पर्ने र वार्षिक पाँच लाखभन्दा बढी पर्यटक आकर्षित गर्ने वन वाटिका लुम्बिनी प्रदेशकै सबैभन्दा ठूलो र फराकिलो क्षेत्रफल भएको उद्यान हो । यसअघि शंकरनगर खानेपानीको निर्वाचनमा पनि बागी उम्मेदवारले गठबन्धनलाई हराएका थिए ।



