एक करोड धरौटी आदेश उल्टियो, पक्राउपछि भैरहवा पुर्‍याइए रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई प्रहरीले भैरहवा पुर्‍याइएको छ । शुक्रबार राति बूढानीलकण्ठस्थित उनको निवासबाट पक्राउ गरेपछि उनलाई यती एयरलाइन्सको उडानमार्फत भैरहवा पुर्‍याइएको हो ।

शुक्रबार राति भद्रकालीस्थित जिल्ला प्रहरी परिसर, काठमाडौंमा राखिएका लामिछानेलाई शनिबार बिहान साढे ७ बजे नै विमानस्थल पुर्‍याइएको थियो । तर, विमान ढिलो गरी उडेको हो ।

उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिनेछ । आज र भोलि सार्वजनिक बिदा परेकाले उनलाई सोमबार मात्र रुपन्देही जिल्ला अदालतमा उपस्थित गराइने भएको छ ।

लामिछानेमाथि सुप्रिम सहकारी प्रकरणमा संगठित ठगीको आरोप लागेको छ । यही प्रकरणमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई थुनामा पठाउन आदेश दिएको थियो । सोही आदेशपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

यसअघि जिल्ला अदालत रुपन्देहीले एक करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर उच्च अदालतले उक्त निर्णय उल्ट्याउँदै उनलाई थुनामा पठाउने आदेश दिएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री