काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनलाई सम्पूर्ण मानव जातिको अस्तित्वमै संकट निम्त्याउने गम्भीर चुनौतीको रूपमा प्रस्तुत गरेका छन्। थाइल्याण्डको बैङ्ककमा जारी छैटौँ बिम्स्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास) शिखर सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालजस्तो हिमाली देशका लागि जलवायु संकट अझ गहिरो भएको बताएका हुन्।
“हाम्रा पहाडहरूले विश्वको तापक्रम सन्तुलनमा राख्न योगदान दिइरहेका छन्, तर हामीले न्यून कार्बन उत्सर्जन गरे पनि प्राकृतिक प्रकोपको असमान असर झेल्नुपरेको छ,” ओलीले भने। उनले पहाडी क्षेत्रमा मात्र होइन, तराई र तटीय क्षेत्रहरूमा समेत जलवायु परिवर्तनको प्रभाव देखिन थालेको जनाए।
प्रधानमन्त्री ओलीले नेपालले आगामी मे महिनामा “सगरमाथा संवाद” आयोजना गर्ने जानकारी गराउँदै, हिमालहरूको अवस्था र समुद्रसँगको अन्तरसम्बन्धबारे अन्तर्राष्ट्रिय समुदायमा चेतना फैलाउने प्रयास हुने बताए।
चरम मौसमी घटनाहरू र सामूहिक कदमको आवश्यकता
बिम्स्टेक क्षेत्रका देशहरू अहिले हिमपहिरो, चक्रवात, अत्यधिक वर्षा, खडेरी र तातो हावाजस्ता चरम मौसमी घटनाहरूको सामना गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सामूहिक र निर्णायक कदम चाल्न आह्वान गरे। “हाम्रा जनता र भविष्यलाई सुरक्षित राख्न अब हामीसँग समय छैन, जलवायु परिवर्तनको सामना साझा उद्देश्यका साथ गर्नुपर्छ,” उनले जोड दिए।
ऊर्जा, व्यापार र सहकार्यका दिशामा अघि बढ्न प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री ओलीले जलविद्युत् क्षेत्रमा लगानी बढाउने, सीमापार ऊर्जा ग्रीड विस्तार गर्ने र नवीकरणीय ऊर्जामार्फत क्षेत्रीय ऊर्जा व्यापार प्रवर्द्धन गर्नुपर्ने आवश्यकता औंल्याए। साथै, आपूर्ति श्रृंखला अवरोध, बढ्दो व्यापार तनाव र प्राविधिक परिवर्तनलाई साझा चुनौतीका रूपमा स्वीकारेर सहकार्य गर्नुपर्ने उनले बताए।
सामाजिक समावेशिता र दिगो विकासमा जोड
‘दिगो विकास लक्ष्यहरूलाई राष्ट्रिय तथा क्षेत्रीय नीतिहरूसँग एकीकृत गरी, न्यायपूर्ण र समावेशी तरिकाले कार्यान्वयन गर्नु हाम्रो दायित्व हो,’ प्रधानमन्त्री ओलीले भने। उनले विपद् व्यवस्थापन, सार्वजनिक स्वास्थ्य र समावेशी आर्थिक नीति बिम्स्टेक क्षेत्रको प्राथमिकतामा पर्नुपर्ने धारणा राखे। साथै, सामाजिक–सांस्कृतिक सद्भाव र समुदायबीचको आत्मीयता बलियो पार्नुपर्नेमा जोड दिए।
सम्मेलन आयोजकप्रति आभार, दुःखद क्षतिमा समवेदना
बैङ्कक सम्मेलनमा भाग लिन आएको क्रममा उनले थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात र सरकारलाई न्यानो आतिथ्यता र सफल सम्मेलन आयोजना गरेकोमा आभार प्रकट गरे। हालै म्यानमार र थाइल्याण्डमा आएको विनाशकारी भूकम्पप्रति नेपाल सरकार र जनताको तर्फबाट समवेदना र सहानुभूति पनि व्यक्त गरे।
उनले बिम्स्टेकको सुरुआत यही बैङ्कक सहरबाट भएको उल्लेख गर्दै, पछिल्ला दुई दशकमा बङ्गालको खाडी क्षेत्र विश्वकै तीव्र गतिमा विकसित हुँदै गएको भए पनि अझै पनि शान्ति र समृद्धिको खोजी जारी रहेको बताए।




