लोडसेडिङ अन्त्य कुनै चमत्कार होइन, इमान्दार प्रयास हो : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङको अन्त्य कुनै आकस्मिक चमत्कार नभई योजनाबद्ध र इमान्दार मेहनतको परिणाम भएको बताएका छन्। सरकारको निर्णयपछि पदबाट हटाइएपछि पत्रकार सम्मेलनमार्फत घिसिङले आफ्नो धारणा सार्वजनिक रूपमा व्यक्त गरेका हुन्।

उनका अनुसार विद्युत प्राधिकरणमा आफ्नो नेतृत्वकाल गौरवपूर्ण रहेको छ। उनले प्राधिकरणको आर्थिक अवस्था उल्लेख्य सुधार हुँदै हाल यसको सम्पत्ति तीन गुणासम्म वृद्धि भएको जानकारी दिए। घिसिङले भने, “पहिला प्राधिकरण आफैं अस्तव्यस्त थियो, अहिले भने विद्युतीकरणका लागि प्राधिकरण नपुगेका घरहरू खोज्दै हिंडेको छ।”

उनले लोडसेडिङको अन्त्यले ३० लाखभन्दा बढी विद्यार्थीको अध्ययनमा सकारात्मक असर पुर्‍याएको उल्लेख गरे।

सरकारको निर्णयले केही हदसम्म कर्मचारीको मनोबलमा असर गरेको टिप्पणी गर्दै घिसिङले आफू भने कहिल्यै विचलित नभएको बताए। “सरकारको निर्णयले कार्यरत कर्मचारीहरू हतोत्साहित भए होलान्, तर म जिम्मेवार नागरिकको रूपमा आफ्नो काममा निरन्तर लागिरहनेछु,” उनले स्पष्ट गरे।

उनले हालका ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्कामाथि पनि कटाक्ष गरे। “ममाथि अनावश्यक नैतिक प्रश्न उठाइयो, बक्यौता असुली रोक्न प्रयास गरियो, आत्मनिर्भर ऊर्जा प्रणाली बनाउने मेरो उद्देश्यमा अवरोध गरियो,” घिसिङले आरोप लगाए।

उनले थपे, “सल्लाह र मार्गदर्शन दिनुपर्ने ठाउँमा मनोबल तोड्ने प्रयास भयो, तर मैले यो सबैलाई धैर्यताका साथ लिएको छु।”

पूर्व कार्यकारी निर्देशक घिसिङले स्पष्ट पारेका छन् कि कुनै पनि राजनीतिक वा व्यक्तिगत हमला आफूलाई विचलित गर्न सक्दैन, र आफूले नागरिकको हैसियतमा देशका लागि योगदान दिन छाड्ने छैनन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप