बिम्स्टेक छैठौँ शिखर सम्मेलन सम्पन्न, ‘बैङ्कक सोचपत्र २०३०’ जारी

काठमाडौँ । बङ्गालको खाडी क्षेत्रको समृद्धि, लचिलोपन र खुलापनलाई दृष्टिगत गर्दै बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बिम्स्टेकको छैठौँ शिखर सम्मेलन बैङ्ककमा सम्पन्न भएको छ। सम्मेलनले ‘बैङ्कक सोचपत्र २०३०’ जारी गर्दै छबुँदे प्रस्ताव पारित गरेको छ।

बैङ्ककमा आयोजित सम्मेलनको समापनपछि आयोजक मुलुक थाइल्याण्डका प्रधानमन्त्री पेथोङ्थान शिनावात्राले पत्रकार सम्मेलनमार्फत पारित प्रस्तावबारे जानकारी गराएका थिए।

प्रस्तावमा बिम्स्टेकलाई अझ प्रभावकारी बनाउने उद्देश्यले कार्यमुखी संयन्त्र गठन गर्ने, भावी दिशा निर्धारणका लागि प्रबुद्ध व्यक्तिहरूको समूह (EPG) गठन गर्ने, समुद्री यातायात (म्यारिटाइम ट्रान्सपोर्ट) सम्झौता अगाडि बढाउने तथा हालै भूकम्पबाट प्रभावित म्यान्मार र थाइल्याण्डलाई सहायताका कार्यक्रमहरू सञ्चालन गर्ने विषय समेटिएको छ। साथै, पर्यटन र संस्कृति क्षेत्रलाई प्राथमिकतामा राख्दै जनता–जनताको सम्पर्क विस्तार गर्ने पहलहरू पनि प्रस्तावमा समावेश छन्।

सम्मेलनकै अवसरमा थाई प्रधानमन्त्री शिनावात्राले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक थाइल्याण्ड भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ उचाइ थपेको बताए। प्रधानमन्त्री ओलीको भ्रमणपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि थाइल्याण्डको औपचारिक भ्रमण गरेका थिए।

शिखर सम्मेलनमा प्रधानमन्त्री ओलीसहित बिम्स्टेकका सबै सदस्य राष्ट्रका सरकार प्रमुखहरूले सम्बोधन गरेका थिए। सम्मेलनको मुख्य केन्द्रबिन्दु व्यापार विस्तार, क्षेत्रीय सम्पर्क सञ्जाल सुदृढीकरण र मानवीय सुरक्षा प्रवर्द्धन रहेको थियो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री