काठमाडौँ । प्रतीक्षित एनसेल नेपाल सुपर लिग (NSL) २०२५ ले नेपाली फुटबल प्रेमीहरूलाई रोमाञ्चित पार्ने गरी तेस्रो सिजनको खेलतालिका सार्वजनिक गरेको छ ।
चैत्र , १६ २०८१ मा सुरु हुने यो सिजन एक महिना लामो कडा प्रतिस्पर्धाको फाइनल खेल भने वैशाख १३ २०८२ मा महा भिडन्तका साथ समापन हुनेछ ।
एनसेल शीर्ष प्रायोजक रहेको यस सिजनमा ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, झापा एफसी र चितवन गरी नेपालका सात उत्कृष्ट टोलीहरू एनसेल एनएसएल उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
एनसेल एनएसएल २०२५ को पहिलो खेल सिजन १ को विजेता काठमाडौं रेजर्स एफसी र सिजन २ को विजेता ललितपुर सिटी एफसी बिचको भ्याली डर्बी रहनेछ । यो बहुप्रतीक्षित खेलले फुटबल प्रेमीहरूलाई रोमाञ्चित बनाउनेछ, यो भिडन्तले थप उत्साह र प्रतिस्पर्धात्मक भावना सिर्जना गर्ने र सिजन भर नै यो उत्साहलाई कायम राख्ने एनसेलले जनाएको छ ।
एनसेलका अनुसार यो रोमाञ्चक खेलसँगै सिजनको यात्रा सुरु हुनेछ, जहाँ प्रत्येक टोलीले च्याम्पियन बन्ने लक्ष्य राख्नेछ । अप्रिल २६, २०२५ को फाइनल खेलमा यस सिजनको विजेता घोषणा गरिनेछ ।
नेपालको अग्रणी फुटबल मञ्च
नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्ट (NSEM) द्वारा आयोजित र अखिल नेपाल फुटबल संघ को प्राविधिक सहयोगमा सञ्चालित एनसेल एनएसएल नेपालको प्रमुख व्यावसायिक फुटबल लिग बनिसकेको छ । यो लिगले नेपाली फुटबलको स्तर उकास्ने, नयाँ प्रतिभा निखार्ने र दर्शकहरूलाई अविस्मरणीय क्षणहरू प्रदान गर्ने कार्यमा महत्वपूर्ण भूमिका खेल्दै आएको एनसेलले जनाएको छ ।




