काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा दिएको भिडियो सन्देशले राजतन्त्र समर्थकहरूलाई थप उत्साहित बनाएको छ । यो सन्देशपछि देशभर राजावादी समूहहरू सक्रिय भएका छन्, जसका कारण काठमाडौँ, पोखरा, वीरगञ्ज लगायतका ठूला सहरहरूमा प्रदर्शनहरू तीव्र भएका छन् । ‘राजा आऊ, देश बचाऊ’ भन्ने नारासहित मोटरसाइकल र्यालीहरू निकालिँदै छन्, जसमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकहरूको उपस्थिति देखिएको छ ।
यसैबीच, राजतन्त्र पुनःस्थापनाको कुरा उठेसँगै गणतन्त्र समर्थक दलहरूले कडा प्रतिवाद जनाएका छन् । प्रमुख राजनीतिक दलका नेताहरूले पूर्वराजा शाहलाई गद्दी फर्कने सपना नदेख्न चेतावनी दिँदै, जनता कुनै हालतमा सामन्ती व्यवस्थामा फर्कन नचाहने दाबी गरेका छन् । विशेषतः माओवादी केन्द्रले राजावादीहरूको सक्रियता देखेर आफ्नो मधेस केन्द्रित अभियानलाई केही समयका लागि स्थगन गरेको छ । गणतन्त्र पक्षधर दलहरू राजावादी गतिविधिहरूप्रति आक्रामक देखिएका छन् ।
राप्रपा र राप्रपा नेपालले राजतन्त्रको पक्षमा जनमत बढाउने प्रयास गरिरहेका छन् । तर, सत्ता पक्ष र प्रतिपक्षका नेताहरूले भने राजावादी गतिविधिप्रति असन्तोष प्रकट गरेका छन् । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुलेरै पूर्वराजा शाह र राजावादी गतिविधिहरूको विरोध गरेका छन् ।
प्रधानमन्त्री ओलीले पूर्वराजालाई दल खोलेर प्रत्यक्ष चुनाव लड्न चुनौती दिँदै भने, ‘लोकप्रिय हुनुहुन्छ भने पार्टी खोल्नोस्, चुनाव लड्नोस्, किन लुकेर बस्ने ?’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ज्ञानेन्द्र शाहकै कारण गणतन्त्र आएको उल्लेख गर्दै भने, ‘राजाले शासन सम्हाल्दा गरेका अलोकतान्त्रिक गतिविधिले नै गणतन्त्र ल्याएको हो । अहिले उनको कुनै स्थान छैन ।’ माओवादी अध्यक्ष प्रचण्डले पूर्वराजाले थप मूर्खता गरे वर्तमान सेवासुविधासमेत कटौती गर्न सकिने चेतावनी दिएका छन् ।
राजतन्त्र पुनःस्थापनाको बहसले राजनीतिमा तरंग ल्याएको छ । एकातर्फ राजावादीहरू आक्रामक रुपमा अभियानमा लागिरहेका छन् भने गणतन्त्र पक्षधर दलहरू यो विषयलाई सशक्त रूपमा प्रतिवाद गरिरहेका छन् । यसले देशमा पुनः पुरानो राजनीतिक बहसलाई सतहमा ल्याएको देखिन्छ ।
गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्प राजतन्त्र हुन्छ भन्ने भ्रममा पूर्वराजा ज्ञानेन्द्र शाह हौसिन आवश्यक नरहेको टिप्पणी गरेका छन् । पछिल्लो समय गणतन्त्रको विकल्प राजतन्त्र हो भनेर केही मानिसहरूले भ्रम फैलाइरहेको र त्यस्तो भ्रममा राजा हौसिन आवश्यक नरहेको जिकिर गर्दै गृहमन्त्री लेखकले भने, ‘केही मानिसहरूले यो गणतन्त्रको विकल्प राजतन्त्र हुन्छ भनेर जुन भ्रम फैलाइराखेका छन्, त्यो भ्रमले राजा हौसिन आवश्यक छैन । आन्दोलन र क्रान्तिबाट फालिएका राजसंस्थाका राजाहरू उसै देशमा स्वतन्त्रतापूर्वक अधिकार उपभोग गरी बसेको इतिहास कमै छ । नेपाली जनताले दिएको त्यो स्वतन्त्रता नबिर्सिन आग्रह छ । यसलाई कमजोरीका रूपमा लिए परिणाम राम्रो हुँदैन ।’




