पुसे भण्डारीको अन्तिम शब्द : ‘म भीरबाट खसेँ, छिटो आउनु’

काठमाडौं । बाजुराको स्वार्मीकार्तिक खापर गाउँपालिका-२, फ्याल गाउँका पुसे भण्डारी आइतबार बिहान माछा मार्न घरबाट निस्किए । करिब ४० वर्षीय पुसे अनुभवी थिए, जोखिम उठाएर माछा मार्न उनी प्रसिद्ध थिए । त्यही जोसले उनलाई कर्णाली नदीको किनारसम्म डोर्यायो, जहाँ पुग्न गाउँबाट तीन-चार घण्टाको पैदल यात्रा गर्नु पर्थ्यो ।

स्थानीयहरूका अनुसार पुसे जहिल्यै भीर चढेर माछा मार्थे । गाउँलेहरू उनलाई भीर चढ्ने साहसी व्यक्ति भनेर चिन्थे। तर त्यो दिन भीरले उनलाई साथ दिएन । साँझ घर फर्कने बेलामा उनी अचानक चिप्लिएर भीरमाबाट तल खसे । अर्धचेत अवस्थामा पुगेका पुसे अशक्त भए पनि हार मानेनन् । उनका काँपिरहेका हातहरूले मोबाइल समाते । उनले घरमा फोन गरे, ‘म भीरबाट खसेँ, घाइते भएँ, छिटो आउनु ।’

परिवारको मन थरथर काँप्यो । उनीहरूले गाउँलेलाई खबर गरे। सहयोग जुटाउन सबै कर्णाली नदीतर्फ दौडिए । तर रात परिसकेको थियो, बाटो कठिन थियो । उता पुसेको आवाज क्रमशः कमजोर बन्दै गयो । फोनमै उनी अन्तिम शब्द बोले, ‘म अब सक्दिनँ’- र सब थुनिए ।

गाउँलेहरू घटनास्थल पुगे, तर पुसेको जीवन निभिसकेको थियो। शव निकाल्ने प्रयास गरे, तर भीर यति अप्ठ्यारो थियो कि जोखिम मोल्न सक्ने अवस्था रहेन । प्रहरीलाई खबर गरियो ।

प्रहरी निरीक्षक देव चौधरीका अनुसार जुद्दी प्रहरी चौकीबाट तत्कालै टोली खटियो । तर भीर यति दुर्गम थियो कि न गाउँलेहरू, न त प्रहरी नै सहजै तल पुग्न सके। स्थानीय गणेश बुढाका अनुसार, ‘हामी ८-१० जना वारि गयौँ, ८–१० जना पारी, तर उद्धार गर्न असम्भवजस्तै भयो ।’ रातभर गाउँले र प्रहरी भीरमुनि आगो बालेर बसे । कर्णालीको छेउमा पुसेको निश्चल शरीर थियो ।

आज र्‍याफ्टिङ टोली आइरहेको छ । इलाका प्रहरी कार्यालय कोल्टीबाट थप टोली घटनास्थलतर्फ लागेको छ । धौलाकोटबाट बोट टोली ल्याएर उद्धार प्रयास जारी छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री