काठमाडौं । कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले भैरहवामा राष्ट्रियस्तरको दुई दिने प्रशिक्षण कार्यक्रमको आयोजना गर्दैछ । प्रशिक्षण कार्यक्रममा देशभरका १६५ क्षेत्रीय सभापतिहरू सहभागिता जनाउन भैरहवा पुगेका छन् ।
आनको उद्घाटन समारोहमा सभापति शेरबहादुर देउवाले सम्बोधन गर्नेछन् र प्रशिक्षण कार्यक्रमको औपचारिक शुरुआत हुनेछ । यो प्रशिक्षण कार्यक्रममा मुलुकभरका क्षेत्रीय सभापति, क्षेत्रीय प्रशिक्षण प्रतिष्ठान प्रमुख, साथै एउटै निर्वाचन क्षेत्र भएका जिल्लाका सभापति र उपसभापतिहरूलाई मिलाएर ३ सय ३० जनाभन्दा बढी कांग्रेसका नेता र कार्यकर्ता भैरहवा पुगेका छन् ।
प्रशिक्षणको मुख्य उद्देश्य पार्टीलाई कसरी संस्थागत र बलियो बनाउने भन्ने विषयमा छलफल गर्नु हो । उद्घाटन पछि, कांग्रेसले अहिलेसम्म गरेका नीतिगत सुधार र भौतिक पूर्वाधारका कार्यहरूको समीक्षा प्रस्तुत गर्नेछ । त्यस्तै, पार्टीको आगामी महाधिवेशन, क्रियाशील सदस्यता र आमनिर्वाचन लगायत अन्य महत्त्वपूर्ण विषयमा पनि विचार विमर्श हुनेछ ।
उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्का, दुई महामन्त्री गगकुमार थापा र विश्वप्रकाश शर्मा, पूर्वमहामन्त्री, नेताहरू कृष्ण सिटौला, विमलेन्द्र निधि, बालकृष्ण खाण, रमेश लेखकलगायत सहभागी हुनेछन् ।
तर वरिष्ठ नेता डा शेखर कोइराला भने प्रशिक्षण कार्यक्रममा नजाने भएका छन् । ‘चार दिनअघि पार्टी केन्द्रीय कार्यालयका एकजना कर्मचारीले टेलिफोन गरेर कार्यक्रमको बारेमा जानकारी गराउँदे सहभागिताका लागि निम्तो दिनुभएको थियो,’ उनका सहयोगी दिनेशचन्द्र थपलियाले भने, ‘त्यसै पनि उहाँको पूर्वनिर्धारित कार्यक्रम तय भइसकेको छ । उहाँ भैरहवाको कार्यक्रममा जानुहुँदैन ।’
प्रशिक्षण कार्यक्रममा सहभागीहरू आफ्नो क्षेत्रका अनुभवहरू आदानप्रदान गर्दै, वर्तमान सरकारका कामकाजका बारेमा आलोचनात्मक सुझाव दिन पनि मौका पाउनेछन्। सरकारका दुई मन्त्रीले त्यसको जवाफ दिने कार्यक्रम समेत रहेको छ ।
यसअघि कांग्रेसले माघ २२ र २३ गते प्रशिक्षण प्रतिष्ठानको आयोजनामा कास्कीको पोखरामा ७७ वटै जिल्लाका सभापति, ७७ वटै जिल्लाका प्रशिक्षण शाखा प्रमुख तथा उपसभापतिलाई राखेर प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम गरेको थियो ।




