काठमाडौं । काठमाडौंको टोखामा प्रहरीको गोली लागी भारतीय अपराधी गुड्डु पटेल पक्राउ परेका छन् । भक्तपुरको गोठाटारमा भएको गोलीकाण्डका मुख्य सुटर मानिएका पटेललाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यका अनुसार टोलीले गोली प्रहार गरी पटेललाई समातेको हो । उनलाई अहिले त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ, जहाँ उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
२०७९ असोज ३ गते गोठाटारस्थित कृष्ण मन्दिर नजिकै फर्निचर व्यवसायी लाल मोहम्मद दर्जीको गोली हानी हत्या गरिएको थियो । हत्याका योजनाकार भारतीय गुण्डा नितिन मदन रहेको खुलेको थियो भने सुटरको भूमिकामा गुड्डु पटेल प्रयोग भएका थिए ।
घटनामा संलग्न अन्य अपराधीहरू केही समयमै पक्राउ परे पनि मुख्य सुटर पटेल फरार थिए । करिब अढाई वर्षपछि प्रहरीले उनलाई काठमाडौंमै पक्राउ गर्न सफल भएको हो ।




