काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले यही फागुन ६ र ७ गते स्थायी कमिटी र पोलिटब्यूरो बैठक बोलाएको छ। बैठकमा समसामयिक राजनीतिक विषयवस्तु, सरकारले ल्याएको अध्यादेशका विषयवस्तु, संसदमा पार्टीको भूमिका प्रभावकारी बनाउने विषय, भ्रष्टाचार, जनजीविकासँग सम्बन्धित मुद्दामा प्रतिपक्ष दलसँगको सहकार्यबारे छलफल गरिने छ ।
यही फागुन ८ गतेदेखि बस्ने पार्टी केन्द्रीय कमिटी बैठकको एजेण्डा तथा कार्यसूची अनुमोदन गर्ने जनाइएको छ । केन्द्रीय कमिटी बैठकअघि सचिवालय, स्थायी कमिटी र पोलिटब्यूरो बैठकले राजनीतिक प्रतिवेदन, आर्थिक, साङ्गठनिक प्रतिवेदन पारित गर्नेछ ।
केन्द्रीय कमिटी बैठकको अन्य एजेण्डा, कार्यसूची अनुमोदन स्थायी कमिटी बैठकले तय गर्नेछ । सबै जनवर्गीय सङ्गठनका कार्य प्रगति तथा ती सङ्गठनका अधिवेशनबारे निर्णय गरिने छ । बैठकले पार्टीको तल्लो तहदेखि सङ्गठन गठन र पुनर्गठन कार्यको समीक्षासहित पार्टीका नेताहरूलाई दिइएको भूगोल केन्द्रित जिम्मेवारीको समीक्षा गर्ने बैठकमा वामपन्थी शक्तिबीच एकता, समान विचारधारा भएका पार्टीसँगको बनाइने मोर्चाबारे निर्णय गरिने बताइएको छ ।




