काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालले निजी क्षेत्रबाट उत्पादित २ हजार मेगावाट बिजुलीको अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा प्रमाणपत्र (आईरिक्स) लिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।
इप्पानका अध्यक्ष गणेश कार्की र प्रोक्लाइमका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कविन कुमार कंडासामीले काठमाण्डौमा आयोजित एक कार्यक्रमका बीच समझदारीपत्र आदानप्रदान गरेका छन् । इप्पानले प्रोक्लाइमसँग गरेको सम्झौताले नेपालमा निजी क्षेत्रले उत्पादन गरेको २७ सय मेगावाट बिजुलीमध्ये पहिलो चरणमा २ हजार मेगावाट बिजुली कार्बन ट्रेडका लागि योग्य हुनेछ ।
यस सम्झौतासँगै नेपालको निजी क्षेत्रले वर्षेनि झन्डै १ अर्ब रुपैयाँ बराबरको कार्बन व्यापार गर्न सक्ने इप्पानका अध्यक्ष गणेश कार्कीले बताए । प्रोक्लाइमका सीईओ कंडासामीले भारत, भुटान र श्रीलङ्काले कार्बन व्यापारबाट फाइदा लिइरहेकोले नेपालले पनि अब यो अवसर सदुपयोग गर्न गइरहेको उल्लेख गरेका छन् ।
अन्तर्राष्ट्रिय हाइड्रोपावर एसोसिएशन (आईएचए) का उपाध्यक्ष सुशील पोखरेलले नेपालमा निर्माण भइरहेका जलविद्युत् आयोजनाहरू सस्टेनेबल डेभलपमेन्टका मापदण्ड पूरा गरेर बनिरहेको भन्दै नेपाली आयोजनाले पनि अब छिट्टै कार्बन ट्रेडबाट पैसा पाउने बताए।
कार्यक्रममा विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले नेपालका लागि डिजाइन गरिएको आईरिक्स क्याल्कुलेटरको शुभारम्भ गरेका छन् । यो क्याल्कुलेटरले कति मेगावाट बिजुली उत्पादन हुँदा त्यसले वार्षिक कति रुपैयाँ बराबरको कार्बन व्यापारका लागि योग्य छ भन्ने कुरा देखाउँछ ।
विश्व बजारमा कार्बन ट्रेड भइरहे पनि नेपालले लाभ लिन नसकेको भन्दै अध्यक्ष डा. धितालले जलविद्युत्को प्रचुर सम्भावना रहेको र ३ हजार मेगावट भन्दा धेरै जलविद्युत् मात्रै उत्पादन भइरहेकोमा नेपालले अब कार्बन ट्रेडबाट पनि लाभ लिन सक्नुपर्नेमा जोड दिए ।
यस्तै वन तथा वातावरण मन्त्रालयका सह–सचिव डा. महेश्वर ढकालले नेपालले वनजङ्गलबाट सानो स्केलमा कार्बन विसर्जनबापतको रकम लिए पनि जलविद्युत् आयोजनाले त्यो अहिलेसम्म लाभ लिन नसकेको बताए ।




