काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले धरानका मेयर हर्क साम्पाङले रित्तो ग्रागी बोकर पानी माग्न सिहंदरबार आएर मिडिया ‘स्टण्टनबाजी’ गरेको टिप्प्णी गरेका छन् । शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले स्टण्टबाजी गर्ने भन्दा पनि काम गरेर देखाउने भन्दै एक वर्षभित्र धरानमा खानेपानीको समस्या समाधान गरेर देखाउने बताए ।
उनले भने, ‘धरान जस्तो धेरै गाउँपालिका र नगरपालिका छन् । समस्या धेरैतिर छ । तर यसरी रित्तो गाग्री बोकेर वा एउटा गाग्रीमा पानी भरेर समस्या समाधान हुँदैन् । मिडिया स्टण्टबाजी गर्ने छुट्टै हो, काम गर्ने छुट्टै हो। हामी काम गरेर देखाउँछौं । अबको एक वर्षभित्रमा काम गरेर देखाइ दिन्छु ।’
उनले धरानमा पानीको व्यवस्था गर्नको लागि करिब छ अर्बको बजेट छुट्याइएको बताए । ठूलो बजेट भएकाले एडीबीको ऋण सहयोगबाट धरानको खानेपानीको समस्या समाधान गर्न लागेको उनले जानकारी दिए ।
उनले पहिला पनि निर्वतमान मेयरले बहादुरी देखाउन खोज्दा जनताले पाइराखेको खानेपानी पनि गुमाउन पुगेको स्मरण गरे ।




