शिक्षण अस्पताल फेरि सुरु भयो स्वास्थ्य बिमा सेवा

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल) मा लामो समयदेखि बन्द बिमासेवा सोमबारदेखि खुलेको छ ।

स्वास्थ्य बिमा बोर्डले लागु गरेको बिमामा सुविधाथैली खारेज गरेपछि यो सुचारु भएको अस्पतालका निर्देशक डा. घनश्याम गुरुङले बताएका छन् । गत भदौदेखि बोर्डले लागु गरेको प्याकेजमा सेवा र सामग्रीको मूल्य अमिल्दो भएपछि अस्पतालले कार्यान्वयन गरेको थिएन । टिचिङमा गत पाँच महिनादेखि स्वास्थ्य बिमा कार्यक्रम बन्द भएको थियो ।

बोर्डका निमित्त कार्यकारी सदस्य डा. सरोज शर्माले सुविधाथैली खारेज गरी प्रत्येक सेवा र सामग्रीको मूल्यअनुसार बिरामीको भुक्तानी दिने निर्णय गरेको छ । गत भदौदेखि बोर्डले सबै अस्पतालको हकमा लागु गरेको यो सेवा टिचिङ अस्पताल महाराजगन्ज र मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले लागु गर्न अस्वीकार गरेका थिए ।

यी दुई अस्पतालले अस्वीकार गरेको भनेर अन्य अस्पतालको गुनासो आएकाले स्थलगत अनुगमन गरी बोर्डले सुविधाथैली कार्यक्रम खारेज गरेको निर्देशक शर्माले बताए । सुविधाथैलीअनुसार उपचार गर्दा अस्पतालमा लामो बसाइ हुने बिरामीको हकमा अस्पताललाई घाटा पर्नुका साथै कतिपय जटिल रोगका सामग्रीसमेत महँगो पर्ने हुनाले लागु गर्न नसकिने भन्दै अस्पतालले अस्वीकार गरेका थिए ।

उनका अनुसार बिमा बोर्डले यो अस्पताललाई ६९ करोड रूपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको समय २०७७ सालदेखि यताको भुक्तानी थपिँदै गएर ६९ करोड रूपैयाँ बाँकी भएको डा. गुरुङले जानकारी दिए ।

भुक्तानी गर्न बाँकी रकममध्ये २० करोड रूपैयाँको माग दाबी हेर्नै बाँकी छ भने एक करोड रूपैयाँ माग दाबी बोर्डले अस्वीकार गरेको थियो । एकातिर समयमा भुक्तानी नगर्ने र अर्कोतिर मागदाबी रकममाथि बोर्डले एक करोड रुपैयाँ अस्वीकार गर्दा अस्पताल समस्यामा परेको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गेटा पुगेर स्वास्थ्यमन्त्रीले भने- ‘पहिले अस्पताल त्यसपछि स्वास्थ्य विज्ञान विश्वविद्यालय’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने विषयमा …

प्रतिकृया दिनुहॊस