काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले विद्युत उत्पादनको लक्ष्य हासिल गर्न सरकारलाई तत्काल विद्युत खरिद सम्झौता (पीपीए) खुला गर्न आग्रह गरेका छन्।
इप्पानको २५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले २८ हजार ५ सय मेगावाट उत्पादनको महत्वाकांक्षी लक्ष्य पूरा गर्नका लागि विद्युत विधेयकमा आवश्यक संशोधन गर्नुपर्नेमा जोड दिए । उनले निजी क्षेत्रलाई प्रतिबन्ध लगाउनुको सट्टा सहजीकरण गरेर ऊर्जा उत्पादनलाई प्रवर्द्धन गर्नु अपरिहार्य रहेको बताए ।
कार्कीका अनुसार, विद्युत विधेयकका असमान दफाहरू संशोधन नगरी संसदबाट पारित भएमा १० वर्षमा मात्र होइन, अर्को १०० वर्षमा पनि २८ हजार ५ सय मेगावाट विद्युत उत्पादनको लक्ष्य प्राप्त गर्न असम्भव हुने जोखिम छ ।
उनले विद्युत विधेयकमा प्रस्तावित केही प्रावधानप्रति असहमति जनाउँदै निजी क्षेत्रलाई १०० मेगावाटका आयोजनामा सीमित गर्ने र सरकारले बिना प्रतिस्पर्धा आयोजना बनाउने प्रस्तावले निजी क्षेत्रको भूमिका कमजोर बनाउने बताए। यस्तो व्यवस्था हटाउन उनले सरकारसँग आग्रह गरे ।
कार्कीले २८ हजार ५ सय मेगावाट उत्पादनका लागि ६२ खर्ब रुपैयाँ लगानी आवश्यक रहेको उल्लेख गर्दै, यसमध्ये ४० खर्ब रुपैयाँ स्वदेशी स्रोतबाट जुटाउन सकिने प्रक्षेपण गरेका छन् । उनले वार्षिक ७ लाख रोजगारी सिर्जना हुने र यसले नेपालको अर्थतन्त्रलाई दूरगामी प्रभाव पार्ने विश्वास व्यक्त गरे ।
उनले जलविद्युत् आयोजना निर्माणमा वित्तीय व्यवस्थापनमा देखिएका बाधा हटाउनुपर्ने र सेबोनले जलविद्युत् आयोजनाको आइपीओ अनुमति रोक्ने काम बन्द गर्नुपर्ने बताए। ऋण लिएर निर्माण भएका आयोजनाहरूले सुरुमा नाफा दिन नसक्ने हुँदा नेटवर्थको आधारमा रोक लगाउनु उचित नभएको उनले स्पष्ट पारे ।
कार्कीले ऊर्जा उत्पादनका लागि निजी क्षेत्र एक्लैले पनि सक्षम रहेको दाबी गर्दै, सरकारबाट सहजीकरण भए लक्ष्य पूरा गर्न कुनै कठिनाइ नहुने धारणा राखे ।
उनले सरकारलाई तत्काल पीपीए खुला गर्न र निजी क्षेत्रलाई समान अवसर दिन आग्रह गर्दै, सहकार्य र प्रतिबद्धताले मात्रै देशको ऊर्जा उत्पादन लक्ष्य हासिल गर्न सकिनेमा विश्वास व्यक्त गरे ।
प्रतिकृया दिनुहॊस