काठमाडौँ । वर्डक्याम्प नेपाल २०२५ काठमाडौंको चण्डोलस्थित कुण्डलिनी दरबारमा आयोजना हुने भएको छ । यही अप्रिल ४ र ५ मा वर्डक्याम्प नेपाल २०२५ आयोजना हुने भएको हो ।
वर्डप्रेस तथा समग्र सूचना–प्रविधिमा रुचि राख्ने नयाँ र अनुभवी दुवैका लागि यो कार्यक्रम एउटा ठूलो अवसर हुने आयोजकले जनाएको छ ।
यस वर्षको वर्डक्याम्प नेपाल ‘जोडिनुहोस्, योगदान दिनुहोस्, र उत्सव मनाउनुहोस्’ भन्ने नारासहित आयोजना हुँदैछ । कार्यक्रममा वर्डप्रेस सम्बन्धी नयाँ जानकारी, प्लगइन र उत्पादनहरूका प्रदर्शन, र विभिन्न कार्यशालाहरूको आयोजना हुने जनाइएको छ ।
आयोजकका अनुसार यस कार्यक्रममा नेपाल, भारत, अमेरिका, युरोपेली मुलुकहरू, बङ्गलादेश जस्ता विभिन्न राष्ट्रबाट स्वदेशी तथा विदेशी सहभागीहरू उपस्थित हुनेछन् ।
कार्यक्रमका मुख्य विशेषताहरू :
१. कन्ट्रिब्युटर डे (अप्रिल ४)
कार्यक्रमको पहिलो दिन वर्डप्रेसको ओपन–सोर्स प्रोजेक्टमा सहभागी हुने अवसर प्रदान गरिनेछ । सहभागीहरूले वर्डप्रेसमा आफ्नो रुचि रहेको क्षेत्रमा योगदान गर्न, नयाँ कुरा सिक्न, र समुदायसँग जोडिन सक्नेछन् । यो दिन टिम लिडरले वर्डप्रेसमा थिम र प्लगइन अनुमोदन प्रक्रिया, यसको मापदण्डहरू, र दिशानिर्देशहरूबारे मार्गदर्शन गर्नेछन् । यस दिन वर्डप्रेस प्रोजेक्टमा प्रोग्रामर र गैर–प्रोग्रामर दुवै खालको योगदानहरू कसरी गर्न सकिन्छ भन्ने बारे सिक्न र बुझ्न सकिन्छ ।
२. कन्फरेन्स डे (अप्रिल ५)
यो दिन वर्डप्रेसका विभिन्न विषयमा आधारित सत्रहरू आयोजना हुनेछ । वर्डप्रेस विशेषज्ञहरूसँग भेटघाट गर्ने, नयाँ विचारहरू सिक्ने, र आफ्नो करियरलाई अगाडि बढाउन चाहनेहरूका लागि यो उपयुक्त अवसर हो । यसैदिन वर्डप्रेस वर्कसपको पनि तयारी हुँदै छ । जसमा कुनै विषय वस्तुलाई आधार मानेर वर्डप्रेसमा त्यस सम्बन्धित वेबसाइट तयार गरिने छ ।
कसको लागि उपयुक्त ?
कार्यक्रममा डेभलपर, प्लगइन र थिम निर्माता, डिजाइनर, सर्च–इन्जिन विशेषज्ञ, व्यवसाय सञ्चालक, कन्टेन्ट क्रिएटर, विद्यार्थी लगायत सबै वर्डप्रेसप्रेमीहरूले भाग लिन सक्नेछन् ।
किन सहभागी हुने ?
● वर्डप्रेससँग सम्बन्धित नयाँ जानकारी र प्रविधिको विकासबारे बुझ्न ।
● नेटवर्क निर्माण गर्न ।
● आफ्नो करियरका लागि नयाँ अवसरहरूको खोजी गर्न ।
● वर्डप्रेस र यसको इकोसिस्टममा के भइरहेको छ भन्ने जानकारी प्राप्त गर्न ।
वर्डक्याम्प नेपाल २०२५ वर्डप्रेस समुदायलाई एकै ठाउँमा ल्याउने ठूलो कार्यक्रम भएको आयोजकले जनाएको छ । वर्डप्रेसमा आफ्नो भविष्य बनाउन चाहने र यसमा योगदान दिन चाहने सबैका लागि यो कार्यक्रम महत्वपूर्ण रहेको जनाएको छ ।
उक्त सम्मेलनमा सहभागिताको लागि चाँडै नै अनलाइन रजिस्ट्रेसन खुला हुने बताइएको छ । थप जानकारीका लागि वर्डक्याम्प नेपालको आधिकारिक वेबसाइटमा जान सकिन्छ ।
प्रतिकृया दिनुहॊस