काठमाडौं । नेपाल र जापानबीचको व्यापार तथा लगानी प्रवद्र्धनमा सहयोग पुर्याउने उद्देश्यका साथ नेपाल निप्पोन चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रिज स्थापना गरिएको छ ।
सामाजिक सेवामूलक गैरनाफामूलक कम्पनीका रूपमा दर्ता गरिएको संस्थाले दुई देशबीचका व्यावसायिक समुदायबीच सहकार्य र समझदारीलाई प्रवद्र्धन गर्ने उद्देश्य लिएको छ । निप्पोन चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रिजको कार्यालय उद्घाटन जापानी दूतावासका मिसन उपप्रमुख तमुरा ताकाहिरोले गर्नुभयो ।
संस्थाको सदस्य बन्न इच्छुक १८ वर्ष उमेर पुगेका नेपाली नागरिकले १० हजार रुपैयाँ शुःल्क बुझाएर सदस्यता प्राप्त गर्न सक्ने तर सदस्यता हस्तान्तरण गर्न भने नसकिने बताइएको छ । संस्थाले समाज कल्याण ऐन २०४९ तथा कम्पनी ऐन २०६३ अनुसार कानुनी प्रक्रिया पालना गर्दै वैदेशिक आर्थिक, प्राविधिक तथा वस्तुगत सहयोग लिनुपरेमा समाज कल्याण परिषद्को पूर्वस्वीकृति लिनेछ ।
चेम्बरको कोष सदस्यता शुल्क, अनुदान तथा अन्य वैधानिक स्रोतबाट संकलन गरी सञ्चालन गरिने र कुनै संशोधन आवश्यक परेमा साधारणसभाबाट पारित विशेष प्रस्तावका आधारमा मात्रै कार्यान्वयन गरिने संस्थाले जनाएको छ । दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुर्याउने विश्वासका साथ सहकार्यका लागि निम्पोन चेम्बरले आग्रहसमेत गरेको छ । सो अवसरमा संस्थाको प्रथम वार्षिक साधारणसभामा निर्वाचित अध्यक्ष, निर्वाचित उपाध्यक्ष साथै सञ्चालक सदस्यहरूको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहॊस