काठमाडौंका तीन ठाउँमा प्रदर्शन : पाँच हजार प्रहरी र पाँच सय ट्राफिक सडकमा

काठमाडौं । संघीय राजधानी काठमाडौंमा आज विभिन्न तीन ठाउँमा विभिन्न समूहले प्रदर्शन गर्दैछ । माइतीघरमा केही दिन अघिदेखि नै सहकारी पीडितहरूको प्रदर्शन जारी छ ।

शुक्रबार नेकपा (एमाले) र मेडिकल व्यवसायी दुर्गा प्रसाईँ समूहले काठमाडौंमै प्रदर्शन गर्दैछन् । एमालेले दरबारमार्गमा गर्ने जागरण सभाका लागि भद्रकालीबाट र्‍याली निकालेर सुन्धारा, वीर अस्पताल, रत्नपार्क घन्टाघर हुँदै दरबारमार्ग पुग्नेछ । त्यस्तै दुर्गा प्रसाईँ समूहको प्रदर्शन कोटेश्वरमा हुँदैछ ।

एकैदिन तीन ठाउँमा फरक फरक समूहको प्रदर्शन हुने भएपछि शुक्रबार काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले तीन ठाउँमा प्रदर्शन हुन लागेकाले आम नागरिकको जनजीवन सहज र सुरक्षित बनाउन शुक्रबार ५ हजार भन्दा बढी प्रहरी खटाइने जानकारी दिए । ट्राफिक व्यवस्थापन सहज बनाउन ५ सयभन्दा बढी ट्राफिक प्रहरी खटाइएकाे छ । ‘नागरिकको जनजीवन तथा आवतजावत सहज र सुरक्षित होस् भन्ने विषयमा सुरक्षा हामी प्रतिबद्ध छौं । त्यसका लागि थप ५/६ हजार प्रहरी र पाँच सयभन्दा बढी ट्राफिक प्रहरी खटाएका छौं,’ उनले भने ।

त्यसमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिनेछन्। त्यसका लागि काठमाडौंमै पर्याप्त प्रहरी रहेको पनि उनले बताए । ‘प्रहरीले लगातार पेट्रोलिङ पनि गर्छ । कहीँ कतै अप्रिय घटना नहोस् भन्नका लागि हामी संवेदनशील छौं र पर्याप्त मात्रामा सुरक्षा व्यवस्था मिलाइएको छ,’ प्रजिअ आचार्यले बताए । सुरक्षा संवेदनशीलता र यातायातलाई मध्येनजर गरेर नै प्रदर्शन गर्ने ठाउँको दूरी टाढा बनाइएको हाे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फोहोर गरेको भन्दै महानगरले एमालेलाई गर्‍यो १ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले सत्तारूढ नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना गरेको छ । दरबारमार्गमा आयोजित जागरण सभाका क्रममा सार्वजनिक सडक र फुटपाथमा फोहोर गरेको आरोपमा कारबाही गरिएको हो । महानगरपालिकाले शुक्रबार पठाएको पत्रमा, २०६८ सालको फोहोर मैला व्यवस्थापन ऐन र काठमाडौं महानगरपालिकाको २०८१ सालको आर्थिक ऐनलाई आधार मान्दै, एक लाख रुपैयाँ जरिवाना लगाइएको उल्लेख छ ।

प्रतिकृया दिनुहॊस