‘हिमालय शम्शेर राणा मेमोरियल लेक्चर’मा आरबीआईका गभर्नरको सम्बोधन

काठमाडौँ । भारतीय रिजर्भ बैंक (आरबीआई) का गभर्नर शक्तिकान्त दासले विश्वको बदलिँदो परिस्थितिसँगै केन्द्रीय बैंकको भूमिका समेत परिवर्तन हुँदै गएको बताएका छन् । नेपाल भ्रमणमा रहेका गभर्नर दासले नेपाल राष्ट्र बैंकद्वारा आयोजित ‘हिमालय शम्शेर राणा मेमोरियल लेक्चर’ कार्यक्रममा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

कार्यक्रममा प्रमुख वक्ताको रूपमा सम्बोधन गर्दै दासले ‘२१ औँ शताब्दीमा केन्द्रीय बैंकिङ : परिवर्तनशील प्रतिमान’ विषयमा बोलेका थिए । त्यस क्रममा उनले केन्द्रीय बैंकिङसम्बन्धी स्थापित मान्यतामा विगतदेखि २१औँ शताब्दीसम्म भएका परिवर्तन, पछिल्लो पाँच वर्षयता भारतीय अर्थतन्त्रमा भएको सुधारमा रिजर्भ बैंकको भूमिकासँगै केन्द्रीय बैंकहरूले भोग्नुपरेका चुनौतीबारे धारणा राखे ।

उनले सन् २००८ को विश्वव्यापी वित्तीय सङ्कट र कोभिडपछिको अर्थतन्त्रको पृष्ठभूमिमा केन्द्रीय बैंकद्वारा लिइएका नीतिगत व्यवस्थाबारे सङ्क्षिप्त चर्चा गर्दै समष्टिगत आर्थिक स्थायित्वका लागि मूल्य स्थायित्वसँगै वित्तीय स्थायित्व पनि प्राथमिकतामा पर्नुपर्ने आवश्यकता औँल्याए ।

मूल्य स्थायित्व हासिल गर्ने केन्द्रीय बैंकको प्रमुख उद्देश्यमा प्रतिकूल असर नपर्ने गरी मुलुकको आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्नेतर्फ समेत मौद्रिक नीति केन्द्रित हुनुपर्ने धारणा गभर्नर दासले राखे । साथै, मुलुकको समग्र अर्थतन्त्र सुधारका लागि मौद्रिक तथा वित्त नीतिबिच समन्वय हुनुपर्नेमा उनले जोड दिए ।

वित्तीय सङ्कट र अर्थतन्त्रमा देखिएका पछिल्ला चुनौतीको सामना गर्नका लागि केन्द्रीय बैंकहरूसँग परम्परागत मौद्रिक उपकरणसँगै गैर परम्परागत उपकरणहरू छनोटको विकल्प रहेको चर्चा उनले गरे । पछिल्लो समयमा वित्तीय स्थायित्व कायम गर्नका लागि समष्टिगत विवेकशील नियमनका उपायहरू अवलम्बन गर्नेतर्फm केन्द्रीय बैंकहरू अग्रसर देखिन थालेको धारणा गभर्नर दासले व्यक्त गरे । साथै,केन्द्रीय बैंक सञ्चारको महत्वबारे उल्लेख गर्दै गभर्नर दासले प्रभावकारी सञ्चार संयन्त्रले मौद्रिक नीतिप्रतिको अपेक्षालाई सम्बोधन गर्न टेवा पुग्ने विश्वास व्यक्त गरे ।

सो अवसरमा गभर्नर दासले जलवायु परिवर्तन, भू–राजनीतिक तनाव, सूचना प्रविधिमा आधारित विकास, कृत्रिम बौद्धिकताको प्रयोगलगायतका विषयबाट सिर्जित चुनौतीबारे चर्चा गर्दै सोको सम्बोधनका लागि विभिन्न नीतिगत उपायसँगै नवप्रवर्तनमा जोड दिनुपर्ने आवश्यकता औँल्याए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले स्वागत मन्तव्य राख्दै ‘हिमालय शम्शेर स्मृति लेक्चर प्रोग्राम’को अवधारणामाथि प्रकाश पारे । पछिल्लो समय सूचना प्रविधि र नवप्रवर्तनको विकाससँगै वित्तीय प्रणालीमा विश्वव्यापी रूपमै परिवर्तन देखिएको सन्दर्भ उल्लेख गर्दै उनले समष्टिगत आर्थिक स्थायित्वकायम गर्ने कार्यमा केन्द्रीय बैंकको भूमिका थप महत्त्वपूर्ण बन्दै गएको धारणा राखे ।

अन्तर्राष्ट्रिय परिवेशमा देखिएका परिवर्तन र आधुनिकीकरणलाई आत्मसात् गर्दै आगामी दिनमा नेपाल राष्ट्र बैंकको भूमिकालाई समेत थप सबल बनाइने प्रतिबद्धता उनले व्यक्त गरे ।

कार्यक्रममा बैंक सञ्चालक समितिका पदाधिकारी, नेपालका लागि भारतीय राजदूत, पूर्वगभर्नर, अर्थविद्, राष्ट्र बैंकका कार्यकारी निर्देशक, निर्देशक तथा अन्य कर्मचारी, बैंकर, पत्रकार, भारतीय रिजर्भ बैंकका पदाधिकारीलगायतको उपस्थिति थियो ।

गभर्नरद्वय अधिकारी र दासबिच मंगलबार नै औपचारिक भेटवार्ता समेत भएको छ । गभर्नरको कार्यालयमा आयोजित भेटवार्तामा नेपाल र भारतीबिच भुक्तानी प्रणालीसम्बन्धी अन्तरआबद्धता र हालसम्म भएका प्रगतिसँगै द्विपक्षीय हितका विषयमा छलफल भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

३५ रुपैयाँको पानी १०० मा बेच्ने जिम्बु थकालीलाई ३ लाख जरिवाना

काठमाडौं । वाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण विभागले काठमाडौंस्थित शान्तिनगरको जिम्बु थकालीलाई ३ लाख रुपैयाँ …

प्रतिकृया दिनुहॊस