काठमाडौं । धनुषाको मिथिला नगरपालिका ३, लालभित्तीमा युनाइटेड लुब्रिकेन्ट इन्डष्ट्रिजको उद्योग शुभारम्भ भएको छ । शनिबार एक कार्यक्रमका बीच मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह र भिडोल इन्टरनेशनल यूकेका डाइरेक्टर अरिजित वासुले सो उद्योगको उद्धघाटन गरेका छन् ।
सो अवसरमा मुुख्यमन्त्री सिंहले मधेश प्रदेश स्रोतमा धेरै धनी भएको र यसको सदुपयोग गरेर नेपाललाई समृद्ध बनाउनका लागि धेरै कार्य गर्न सकिने बताए । दैनिक रुपमा बढ्दो प्रविधि र प्रयोगसँगै अटोमोबाइल इन्ड्रस्ट्रीको दायरा समेत बढ्दै गएकोमा लुब्रिकेन्ट जस्तो अत्यावश्यकीय वस्तुको उत्पादन नेपालमै शुरु हुनु ठूलो सफलता भएको मुख्यमन्त्री सिंहले बताए ।
लुब्रिकेन्ट उत्पादनसँगै नेपालमा रोजगारी सृजना र आर्थिक उत्पादनमा कम्पनीले ठूलो सहयोग पु¥याउने उनले विश्वास व्यक्त गरे । भिडोल इन्टरनेशनल यूकेका निर्देशक अरिजित वासुले नेपालमा लुब्रिकेन्ट बजारमा निकै प्रतिस्पर्धा भए पनि गुणस्तरीय उत्पादन भए पछि सबैको रोजाइमा पर्ने र रोजगारी समेत सिर्जना हुने बताए । उनले यो स्तरको प्लान्ट बनाएर लुब्रिकेन्ट उत्पादन गर्नु नेपालको लागि गौरवको विषय समेत भएको बताए ।
कम्पनीका डाइरेक्टर दिपेन्द्र कुमार मिश्रले करिव ५० करोडको लागतमा निर्माण भएको उद्योगबाट उत्पादन हुने लुब्रिकेन्ट, ग्रिज र अन्य उत्पादन विदेशबाट आयात गरेको भन्दा केही कम मूल्यमै उपलब्ध हुने बताए । कम्पनीका डेपुटी जनरल म्यानेजर दिनेश खनालले सो उद्योगबाट हुने लुब्रिकेन्ट उत्पादन प्रक्रियाको समग्र प्रक्रिया वारेमा जानकारी प्रदान गरे ।
१ लाख ७५ हजार ८७६ वर्गफिट क्षेत्रफलमा फैलिएको सो उद्योगमा २० लाख लिटर क्षमताको स्टोरेज रहेको छ । यहाँ मासिक रुपमा प्रतिसिफ्ट १ लाख लिटर लुब्रिकेटिङ आयल उत्पादन गर्न सकिन्छ ।
उद्योगले आवश्यक कच्चा पदार्थ भारतबाट आयात गर्छ र तयारी लुब्रिकेन्ट नेपाली बजारमा बिक्री गर्छ। कारखानाले दुई लाख लिटर लुब्रिकेन्ट स्टोरेज ट्यांक बनाएको छ।
प्रतिकृया दिनुहॊस