नबिल बैंकको ‘नियो बैंक’ सेवा : ३० सेकेन्डमै खुल्छ खाता, फोनबाटै पाइन्छ लोन

काठमाडौं । नबिल बैंक लिमिटेडले नेपालमा नै पहिलो पटक सञ्चालनमा ल्याएको एनबैंक (नियो बैंक) सेवा प्रभावकारी बन्दै गएको छ । एनबैंकमा डिजिटल भुक्तानी र रकम जम्मा गर्ने मात्रै होइन बचत÷निक्षेप संकलन, कर्जा प्रवाह, रेमिट्यान्स आप्रवाह, कार्ड र मार्केट प्लेससम्बन्धी सुविधा पनि छ ।

२०२२ डिसेम्बर २२ मा एनबैंकलाई नबिल बैंक भित्रको भर्चुअल बैंक भनेर सार्वजनिक गरिएको थियो । त्यसपछि त्यहाँबाट नविल बैंकका अधिकांश सेवा एप्समार्फत नै प्रदान गर्ने प्रयास गरिँदै आइएको छ । ग्राहकले यो सेवामार्फत डेस्कटप, ल्यापटप तथा ट्यावलेट प्रयोग गरी दैनिक २० लाख रुपैयाँको कारोबार गर्न सक्नेछन् ।

सो सेवामार्फत मासिक ५० लाख रुपैयाँ बराबरको कारोबार गर्न सकिने बैंकको भनाइ छ। एनबैंक वेब सेवा ग्राहकमैत्री, पहुँचयोग्य र सुरक्षित सेवा प्रदानमा सहयोग पुग्ने बैंकले बताएको छ । एनबैंक एप (मोबाइल बैंकिङ)मा दर्ता भएका व्यक्तिगत ग्राहकले लग इन गर्न एउटै आइडी र पासवर्ड वा क्यूआर कोड प्रयोग गरेर कारोबार गर्न सकिनेछ ।

  • हेरौं थप विशेषता :-

१. ३० सेकेन्ड मै खाता खोल्न सकिने
एनबैंक एपबाट ३० सेकेण्ड भित्रै एन सेभिङ खाता (N Saving Account) खोल्न सकिनेछ । खाता खोल्न ग्राहकले आफ्नो नाम, जन्ममिति, ईमेल ठेगाना, मोबाइल नम्बर र नागरिकता नम्बर मात्र भर्नु पर्नेछ । खोलिएको खाता ग्राहकहरूले आफ्नो केवाईसी अद्यावधिक गर्नु भन्दा पहिले १५ दिनको लागि सञ्चालन हुनेछ, जुन उनीहरूले आफ्नो एनबैंक एपबाट सिधै गर्न सक्नेछन् ।

२. डिजिटल ऋण
ग्राहकहरूले आफ्नो एनबैंक एपबाट सिधै ऋणको लागि डिजिटल आवेदन दिन सक्छनेछन् । नबिल फोन लोन र लोन अगेन्स्ट फिक्स डिपोजिट गरी दुई प्रकारका डिजिटल ऋण लिन सकिनेछ । ग्राहकले आफ्नो ६ महिनाको कारोबार इतिहासको आधारमा नबिल फोन लोन प्राप्त गर्न सक्छन् । बैंकको एल्गोरिदमले उपयुक्त क्रेडिट सीमा निर्धारण गर्दछ र योग्य ग्राहकहरूले ऋणको लागि दर्ता गर्न सक्छन् र ग्राहकको एन बैंक एपबाट सिधै तोकिएको सीमासम्मआवेदन दिन सकिनेछ । खातामा भएको कारोबारको आधारमा बिना धितो र बिना कागजपत्र ग्राहकलाई दुई लाख रुपियाँसम्मको कर्जा एक बर्षसम्मका लागि उपलब्ध गराउने सुविधा यसमा छ, जुन बैंकको शाखामा नगई एनबैंकमार्फत नै पाउन सकिन्छ ।   यसको लागि बैंक धाउनुपर्ने,अन्य कुनै कागजी कार्य गर्नुपर्ने बाध्यता भने हुनेछैन ।

३. एन–रेमिट
नेपालभित्र पैसा पठाउने बाहेक, विदेशमा बस्ने ग्राहकहरूले एन रेमिट छनोट गरेर आफ्नो मास्टर कार्ड वा भिसा कार्डहरू प्रयोग गरेर आफ्नो अन्तर्राष्ट्रिय बैंकहरूबाट सिधै नबिल बैंकको खातामा पैसा पठाउन सकिनेछ । प्रेषक र प्रापक विवरणहरू सहित (युएसडीमा) पठाइने रकम सहितको फारम मात्र भरे पुग्नेछ । प्राप्तकर्ताले केही सेकेन्डमा नबिल बैंक खातामा पैसा सिधै प्राप्त गर्न सक्नेछन् ।

४. अन्तर्राष्ट्रिय नम्बर प्रयोग गरेर दर्ता सुविधा
विदेशमा बस्ने ग्राहकहरूले आफ्नो अन्तर्राष्ट्रिय नम्बर प्रयोग गरी एन बैंक एपमा दर्ता गर्न र आफ्नो नबिल बैंक खाता सञ्चालन गर्न सक्नेछन् । विदेशमा बस्ने ग्राहकहरूले नबिल बैंकबाट एसएमएस अलर्ट, ओटीपी, सूचनाहरू र समाचार र अलर्टहरू पनि प्राप्त गर्नेछन्।

५. २४ सै घण्टा सातै दिन सेवा
बैंकले आफ्ना ग्राहकलाई बैंकको कस्टमर केयर सेन्टर र भिडियो केवाइसी मार्फत् २४ सै घण्टा सेवाप्रदान गर्ने बताएको छ । एन बैंकको कुनै सेवा प्रयोग गर्दा आउन सक्ने समस्यालाई तुरुन्तै समाधान गर्ने मनसायले यो सुविधा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

यो सँगै ग्राहकले आफ्नो एपबाट सीधै बैंकिङ सेवाहरूको होस्टको लागि आवेदन दिन सक्छन् । जस्तो कि नयाँ डेबिट कार्ड, डेबिट कार्ड प्रतिस्थापन, क्रेडिट कार्ड, व्यक्तिगत ऋण आवेदन लगायतका कामहरू पनि मोबाइल एपबाटै गर्न सकिनेछ ।

यसबाहेक, एपबाट नै बैंकको सम्पर्क, शाखा तथा एटीएमको विवरण, ब्याजदर, विनिमय दर, ईएमआई क्याल्कुलेटर एन बैंकमार्फत् ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एपमा प्रयोग गर्न सक्नेछन् । यो सँगै अब एन बैंकमार्फत फोनपे मार्फत विभिन्न अनलाइन भुक्तानी पनि गर्न सक्नेछन् ।

६. अनलाइन सपिङको व्यवस्था
यदि कसैले अनलाइन किनमेल गर्न परेमा एन बैंकबाट नै गर्न सकिन्छ । यसको लागि दराज र सिजि डिजिटल जस्ता अनलाईन सपिङका माध्यमलाई पनि एन बैंकले समावेश गरेको छ । मार्केट बेस बनाउनको लागि नबिल बैंकले एन बैंकबाट सपिङ गर्दा धेरै अफरहरु पनि राखेको छ । भावी दिनमा ग्राहकलाई सहज बनाउन यस्ता धेरै प्लेटफर्मलाई पार्टनर बनाएर एन बैंकमा जोड्दै जाने बैंकको भनाई रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री