दूधकोशी किनाराका बासिन्दालाई सुरक्षित ठाउँमा जान आग्रह

काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामू गाउँपालिका–५ को टासी लाप्चा क्षेत्रमा लेदोसहित आएको भीषण बाढी प्रवेश गरेपछि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले दूधकोशी किनाराका बासिन्दालाई सुरक्षित ठाउँमा जान आग्रह गरेको छ ।

शुक्रबार दिउँसो एक्कासी बाढी आएपछि प्रशासनले सार्वजनिक सूचनामार्फत सर्वसाधारणलाई सुरक्षित स्थानमा जान भनेको हो । जिल्ला प्रशासन कार्यालयका अनुसार हिमताल फुटेको आशंका छ । अहिलेसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले बाढीले दुईवटा होटल बगाएको सूचना आएको जानकारी दिइन् । उनले मानवीय क्षति भएको भन्ने सूचना भने नआएको जानकारी दिएकी छन् । ‘अहिलेसम्म दुईवटा होटल पूर्ण रुपमा बगाएको भन्ने छ र मानवीय क्षतिको विवरण प्राप्त भएको छैन,’ प्रजिअ पाण्डेले भनिन् ।

हिमताल फुटेको अथवा हिमपहिरो गएको भन्ने अझै यकिन नभएको प्रजिअ पाण्डेले बताइन् । प्रजिअ पाण्डेका अनुसार घटनास्थलतर्फ सुरक्षाकर्मी गइसकेका छन् । ‘हिमपहिरो आएको हो वा हिमताल फुटेको हो भन्ने यकिन हुन सकेको छैन’, उनले भनिन् । स्थानीयहरूका अनुसार लेदोसहितको बाढीले घर टहरा पुरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

झ्याप्ले खोलामा थप ७ वटा शव फेला

काठमाडाैं । धादिङको झ्याप्ले खोला क्षेत्रमा थप ७ वटा शव भेटिएका छन् । पहिरोमा पुरिएको …

प्रतिकृया दिनुहॊस