चोरी केसमै जेल परेका हर्कबहादुरले छुटेलगत्तै चोरे १५ तोला सुन

काठमाडौं । धनगढी उप-महानगरपालिका-४ बसपार्क स्थित योगेन्द्र ओझाको घरबाट चोरी भएका थप गरगहना प्रहरीले बरामद गरेको छ । उपमहानगरपालिकाकै वडा नम्बर १ बस्ने गीता भण्डारीले सञ्चालन गरेको खाजा पसल भित्र तथा सोही नजिक निजले भाडामा लिएको जमिनमा गाडिएको अवस्थामा ती गरगहना फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जमिनमा खाल्डो बनाई लुकाई राखेको अवस्थामा शनिबार नौगेडी १ थान , मङ्गलसूत्र १ थान, बरमाला १ थान, फेन्सीमाला १ थान, पत्थरवाला माला १ थान, बाला १ थान , ठुलो टप २ जोर (चार पिस), विभिन्न प्रकारका सानो टप (१३पिस), अँगुठी १ थान, सिक्री १ थान, हिरा जस्तो देखिने सिक्री १ थान, र नगद रु. ३४६ रुपैयाँ बरामद गरिएको छ ।

प्रहरीले चोरीको आरोपमा हर्कबहादुर गिरीलाई पक्राउ गरी चोरी मुद्दामा थप अनुसन्धान गरिरहेको छ ।

गिरिको आपराधिक यात्रा
गिरिको स्थायी घर भीमदत्त नगरपालिकाको वडा नम्बर १८ कञ्चनपुर हो । उनी २६ वर्षको उमेर भएका बेला २०७७ सालमा धनगढी आएर चोरीजन्य अपराधमा संलग्न भए । त्यतीबेला कतिपयका मोबाइल चोर्ने अपराध गरे । उनले धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का महेशराज जोशीको मोबाइल चोरेपछि उनको विरुद्ध मुद्दा प-यो ।

गिरिका विरुद्ध जोशीले २०७७ साल कार्तिक २७ गते जिल्ला प्रहरी कार्यालय कैलालीमा मुद्दा दर्ता गरे । उनी पक्राउ पनि परे । गिरिलाई जिल्ला अदालत कैलालीले २०७७ सालको चैत ४ गते चोरीको मुद्दामा साढे ३ वर्ष कैद र ३० हजार जरिवाना तोक्यो ।

कैलाली कारागारका प्रमुख दीपक जोशीले गिरि साढे ३ वर्षको सजाय भुक्तान गरेर यसै साउनको १७ गते जेलमुक्त भएका हुन । उनले जेलमुक्त भएको सातौँ दिन अथवा साउनको २३ गते दिउसो साढे ११ बजेतिर ओझाको बसपार्क नजिकैको घरको २ वटा ताला तोडेर दराजभित्र राखेको सुन, चाँदी र नगदी चोरी गरे ।

उनले चोरी गरेको गहना आफ्नो धर्मदिदीको माइतीको धनगढी १ (नैनादेबी गेट नजिक) स्थिति घरमा लुकाएर राखे भने उनी चोरी भएको दिन राती सुत्न अमित प्लाजाभित्रको गल्लीमा रहेको आफ्नो नेपाली थरको साथीकोमा गए । गहना चोर्दै बिक्री गरेको रकमले पार्टी गरिरहेका बेला उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

यसरी पत्ता लाग्यो, सुराक
ओझाको घरनजिकैको सिसि क्यामेरा गिरिको सुराक पत्ता लगाउने मुख्य कारण बन्यो । उनले घरमा पसेको, निस्केको र त्यहाँबाट बाहिर बजारतिर गएको सिसिक्यामेराको भिडियो प्रहरीले फेला पारेको छ ।

त्यही भिडियोको आधारमा प्रहरीले उनलाई मुख्य बजारमा पनि फलो गरेको थियो । उनी, रातोपुलबाट अटो चढेर नैनादेबी मन्दिर जाने गेट नजिक गए । त्यहाँ अटोबाट ओर्लिएका उनले मुख्य बजारमै रहेको धर्मदिदीको माइतीको घरमा गएको भिडियोले प्रहरीले उनको पहिचान गरेको हो ।

गिरिलाई शुक्रबार जिल्ला अदालत कैलालीबाट म्याद थप गरेर अनुसन्धान भईरहेको मुद्दा शाखाका इन्चार्ज उपेन्द्र बमले जनाएका छन ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

लाइसेन्स प्राप्त हतियारको निषेधित क्षेत्र तोकियो

काठमाडौं । यात्रा इजाजत प्राप्त हतियार नवीकरणका लागि सम्बन्धित कार्यालयमा बाहेक अन्यत्र सरकारी कार्यालय एवं सार्वजनिकस्थलमा लैजान नपाइने भएको छ । सरकारले गत भदौ ३१ गते सूचना प्रकाशित गरी यात्रा इजाजतपत्र प्राप्त हातहतियार समेत न्यायिक निकाय, संसद् भवन तथा परिसर, हातहतियारको इजाजतपत्र लिएको कार्यालयमा इजाजतपत्र नवीकरणका लागि ल्याउने वा लैजाने प्रयोजनबाहेक लैजान नपाउने जनाएको हो ।

प्रतिकृया दिनुहॊस