आज साउनको पहिलो सोमबार, यस्तो छ महिमा

काठमाडौं । आज २०८१ साल साउन ७ गते सोमबार तदनुसार सन् २०२४ जुलाई २२ तारिख । साउन कृष्ण पक्षको प्रतिपदा तिथि । यो वर्षको साउनको पहिलो सोमबार । पशुपतिनाथ मन्दिरमासहित देशभरका शिवालयमा भक्तजनको भीड लाग्ने गर्दछ ।

हिन्दु महिलाहरुले साउने सोमबारलाई विशेष धार्मिक दिनका रुपमा लिने गर्दछन् । साउने सोमबारका दिन निराहार ब्रत बसी शिवजीको पूजा अराधना गर्दा मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । साउने सोमबारमा शिवजीको पूजा उपासना गर्नाले आफू र आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायु र घर परिवारमा सुख शान्ति छाउने धार्मिक विश्वास छ ।

हिन्दु धर्मग्रन्थ अनुसार भगवान शिवलाई सोमबारको स्वामी भनिन्छ । त्यसैले यो दिनलाई विशेष दिनका रुपमा लिइन्छ । साउने सोमबारको दिन मनोकामना पूरा हुने विश्वासका साथ भगवान शिवलाई जल र बेलपत्र चढाँउने गरिन्छ । हिन्दू धर्ममा साउनलाई धर्मकर्मको महिना भनिन्छ ।

आज सोमबार सौर र चान्द्रमास दुवैअनुसार पहिलो सोमबार परेको छ । साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको बार भएकाले व्रत बस्ने परम्परा छ । यस दिन विशेषरुपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ ।

नेपालमा सौरमास अनुसारका सोमबार नै व्रत गर्ने परम्परा रहेको समितिको पूर्वअध्यक्षसमेत रहनुभएका धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए । पशुपतिनाथ मन्दिरमा भने चान्द्रमास र सौरमास दुवै अनुसारका साउनको सोमबारका दिनमा भक्तजनको भीड लाग्छ ।

सोमबारका दिन काठमाडौंको पशुपतिनाथ, गोकर्णेश्वर महादेव, ललितपुरको कुम्भेश्वर, खोटाङको हलेसी महादेव, धरानको पिण्डेश्वर महादेव लगायत देशभरका शिवालयहरुमा भक्तजनको घुँइचो लाग्ने गरेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

३६ उपसचिवको सरुवा, फेरिए १२ जिल्लाका सीडीओ (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले ३६ उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ । सरुवा अनुसार १२ …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds