काठमाडौं । व्यवसाय घटे पनि नेपाल टेलिकमले नाफा भने बढाएको छ । सेयर बजारमा सूचीकृत एकमात्र दूरसंचार कम्पनीले तीन महिनामा झण्डै साढे ४ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ । बजारमा सूचीकृत तथा सरकारी स्वामित्वमा रहेकामध्ये यो सबैभन्दा धेरै नाफा कमाउने कम्पनी हो ।
असोज मसान्तसम्मको सार्वजनिक वित्तीय विवरणअनुसार उसले ४ अर्ब ४९ करोड खुद नाफा आर्जन गरेको छ । गत वर्षको यस अवधिमा कम्पनीले ४ अर्ब ५ करोड खुद नाफा कमाएको थियो । कम्पनीको नाफा बढे पनि व्यवसाय भने घटेको छ । अघिल्लो वर्षको तीन महिनामा सेवावापत १० अर्ब ५८ करोड रुपैयाँ आम्दानी गरेकोमा अहिले ९ अर्ब ४९ करोडमा खुम्चिएको छ ।
व्याजसहितको अन्य आम्दानी बढ्नु तथा संचालनसहितका खर्च घट्दा टेलिकमको नाफामा बढोत्तरी आएको हो । अन्य आम्दानी ११ करोडले बढेको छ भने संचालन तथा ‘मेन्टेनेन्स’ खर्च ११ करोडले घटेको छ । प्रशासनिक तथा नियमित शुल्कवापतका खर्चहरु पनि घटेको छ । नाफा बढेसँगै कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ११९ रुपैयाँ ७५ पैसा पुगेको छ । गत वर्षको यस अवधिमा यो १०४ रुपैयाँ थियो ।




