काठमाडौं । केआई सिंह राजमार्गअन्तर्गत डडेलधुराको रडुवा खोलामा बिहीबार साँझ बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । २६ जनाभन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये ७ जनाको अवस्था चिन्ताजनक छ ।
उग्रतारा मन्दिरमा लागेको जात्राका सहभागी लिएर फर्कंदै गरेको से१क २९३ नम्बरको स्कुल बस सडकदेखि ३ सय मिटर तल खस्दा १० जनाको घटनास्थलमै र ७ जनाको उपक्षेत्रीय अस्पताल डडेलधुरामा मृत्यु भएको प्रहरीले जनाएको छ । बस डोटीको शिखर नगरपालिका वान्डुग्रीसैनस्थित पिसजोन एकेडेमीको हो ।
दुर्घटनाका गम्भीर घाइतेलाई धनगढी रिफर गरिएको अस्पतालले जनाएको छ । ‘घटनास्थलमा १० जनाको शव निकालिसकिएको छ,’ डडेलधुराका डीएसपी डम्बर केसीले भने, ‘मृतकको संख्या अझ बढ्न सक्छ ।’
सुदूरपश्चिम प्रहरी प्रमुख डीआईजी सुरज केसीका अनुसार घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर छ । घटनाको विस्तृत विवरण आइनसकेको उनले बताए । अमरगढी नगरपालिकाको रडुवा खोला पुग्नुअघि भीरबाट बस खसेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिकृया दिनुहॊस