काठमाडाैं । सवारीसाधनको अत्यधिक चाप हुने पूर्व-पश्चिम राजमार्ग विस्तार गरी ८ लेनसम्मको बनाउने तयारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभाग लागिपरेको छ। हाल २ लेन रहेको राजमार्ग सहरी क्षेत्रमा ८ लेन र अन्य भागमा ४ लेनको बनाउने तयारी गरिरहेको छ।
पूर्व-पश्चिम राजमार्ग विस्तार गर्ने योजनाअन्तर्गत २ सय किलोमिटर खण्डको विस्तार कार्य सुरु गर्ने ठेक्का प्रक्रिया करिब अन्तिम चरणमा पुगेको खबर पुष्प कोइरालाले आजको नयाँ पत्रिका दैनिकमा लेखेका छन्। सो राजमार्ग विस्तारअन्तर्गत नारायणघाट–बुटवल ११३ किलोमिटर र कमला–सप्तकोसी ८७ किलोमिटरको विस्तार कार्य अन्तिम चरणमा पुगेको विभागका प्रवक्ता मुक्ति गौतमले बताए ।
हाल दुई लेनमा सञ्चालन भइरहेको सो राजमार्गलाई ४ लेनमा र सहरी क्षेत्रमा सर्भिस लेनसहित ८ लेनमा विस्तार गर्ने योजनाअनुसार काम अघि बढाइएको उनले जानकारी दिए। ‘नारायणघाट–बुटवल खण्डमा सवारीसाधनको चाप अत्यधिक भएकाले यो खण्ड सबैभन्दा पहिले सुरु गर्न लागिएको हो,’ उनले भने, ‘यो खण्डको विस्तारका लागि कम्पनी छनोट भइसकेको छ, ठेक्का सम्झौता गर्न आउन छनोट भएको कम्पनीलाई आह्वानसमेत गरिसकिएको छ।’




