काठमाडौं । झापाको कमल गाउँपालिकामा रहेको एक सामुदायिक विद्यालयका एक प्रधानाध्यापकले विद्यार्थीलाई कुटपिट गरेका छन् । फेसबुक स्टाटसमा कमेन्ट गरेको निहुँमा कमल गाउँपालिका-५ को मंगलमय माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहन बगालेले कक्षा ११ मा अध्ययनरत विद्यार्थी निर्जला बाँस्कोटालाई कुटपिट गरेका हुन् ।
फेसबुकको कमेन्ट निहुँमा प्रअले कुटेको उनको भनाई छ । ‘फेसबुकमा हेडसरलाई गाली गरेर लेखेको एउटा स्टाटस थियो । त्यसमा मैले थोरै भएन र भनेर कमेन्ट गरेकी थिएँ,’ निर्जलाले भनिन्, ‘मंगलबार स्कुलको अफिसमा हेडसरले खानेपानीको नालाले खुट्टामा कुट्नुभयो ।’
कुटपिटबाट बालिकाको खुट्टामा नीलडाम भएको छ । कुटपिटपछि अभिभावक बोलाएर कागज गरेर उनलाई विद्यालयबाट निकालिएको गुनासोसमेत गरिन् । ‘मलाई कुटेपछि बुबालाई बोलाएर कागजमा साइन गर्न लगाइयो । भोलिदेखि स्कुल नआउनु भन्नुभएको छ,’ उनले भनिन् ।
प्रधानाध्यापक बगालेले भने विद्यार्थीलाई कारबाही स्वरूप सामान्य तरिकाले कुटपिट गरेको स्वीकार गरेका छन् । विद्यार्थी तथा अभिभावकले प्रहरी कार्यालयमा उजुरी गरेकोले इलाका प्रहरी कार्यालय, दमकमा छलफल गरेर मिल्ने सहमति भएको पनि उनले बताए । कुटपिट गरेको विषयमा छानबिन गर्न समिति गठन गरिएको छ ।
बुधबार शिक्षा समितिको बैठकले ५ नम्बर वडाका अध्यक्षको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो । सामाजिक सञ्जालमा घटना सार्वजनिक भएपछि गाउँपालिका प्रमुख, प्रधानाध्यापक बगाले, व्यवस्थापन समिति अध्यक्ष, बाल संगठनका प्रतिनिधिसहित बसेर घटनाबारे छलफल भएको पालिकाका शिक्षा शाखा प्रमुख सूर्य न्यौपानेको भनाई छ ।



