नेकपा एकताः तल्लो तहमा अझै एमाले र माओवादी नै सक्रिय

काठमाडाैं । पार्टी एकताको पाँच महिना बितिसक्दा पनि नेकपाको तल्लो तहसम्म एकीकृत संरचना तयार हुन सकेको छैन । केन्द्रीय सचिवालयबाहेक पार्टीका कुनै सांगठनिक संरचना सक्रिय छैनन्।

तल्लो तहमा तात्कालिक एमाले र माओवादी केन्द्रका छुट्टाछुट्टै कमिटी कायमै छन्। यी दुईबीच गत जेठमा एकता घोषणा भएको थियो। केन्द्रमा स्थायी कमिटी र केन्द्रीय कमिटी बनेका छन्। तिनको बैठक नै बस्न छाडेको छ। यी दुवै कमिटी पार्टीको मुख्य राजनीतिक निर्णय र छलफल गर्ने थलो हुन्। पाँच महिनामा स्थायीका दुई र केन्द्रीय कमिटीको एउटा बैठक बसेका छन्, औपचारिकताका लागि मात्र। यो खबर आजको कान्तिपुर दैनिकमा दुर्गा खनालले लेखेका छन्।

स्थायी कमिटी बैठक पटकपटक बोलाउँदै स्थगन गरिएको छ। बैठकै नगर्ने प्रवृत्ति बढेको भन्दै अध्यक्षद्वयप्रति पार्टीभित्रै आक्रोश बढ्न थालेको छ। वरिष्ठ नेता झलनाथ खनालले आइतबार झापाको एक कार्यक्रममा तत्काल स्थायी कमिटी बैठक माग गरे। अधिकांश नेता बैठक नबसेकामा असन्तुष्ट छन्। ‘पार्टीभित्र संगठनात्मक अन्योल छ,’ स्थायी कमिटी सदस्य योगेश भट्टराईले भने, ‘सरकार र पार्टीबीचको सम्बन्ध नै टुटेको छ, यसले सरकारका कामलाई पनि फाइदा भएको छैन।’

असारमा बसेको स्थायी कमिटी बैठकमा नेताहरूले सरकारका कामकारबाही समीक्षा गर्नुपर्ने प्रस्ताव राखेका थिए। त्यसपछि उक्त प्रस्तावअनुसारै बैठक डाकिए पनि पटकपटक स्थगित हुँदै आएको छ। कहिले बस्ने, अझै टुंगो छैन। एकतापछि प्रदेशको नेतृत्व तोक्ने काम मात्र भएको छ। प्रदेश, जिल्ला कमिटी बनाउने, सबै तहको एकीकरणको अन्तिम स्वरूप तयार गर्ने काम अल्झेको अल्झै छ।

एकतासम्बन्धी प्रस्ताव तयार पार्न महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापाको कार्यदल बनाइएको छ। कार्यदलले सबै प्रदेशका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवसँग छलफल गरे पनि अन्तिम प्रस्ताव दिन सकेको छैन। नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले पार्टी नेताहरूले सरकारका कामको बचाउ नगरेको गुनासो पटकपटक गर्दै आएका छन्। अन्य नेताहरूले सरकारको कामको स्वामित्व लिन पार्टीभित्र छलफल र पार्टीको निर्णयअनुसार सरकार चल्ने वातावरण तयार हुुनुपर्ने सुझाव प्रधानमन्त्रीलाई दिने गरेका छन्।

कम्तीमा स्थायी र केन्द्रीय कमिटी क्रियाशील हुँदा पनि सरकारलाई धेरै सहयोगको वातावरण बन्ने स्थायी कमिटी सदस्य पौडेलको भनाइ छ। केन्द्रीय कमिटी ४ सय ४५ सदस्यीय छ। स्थायी कमिटीमा ४५ सदस्य छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री