काठमाडाैं । अमेरिकी डलर महँगो बन्दै गएका बेला मुलुकमा यसको सञ्चिति घटेपछि सरकारले विदेश जाने नेपालीलाई नगदमा एक हजार पाँच सय अमेरिकी डलर मात्र दिने भएको छ।
चालु आर्थिक वर्षको तीन महिनामा मुलुकमा विदेशी मुद्राको सञ्चित घट्दै गएको र चालु खाता घाटा पनि अघिल्लो वर्षको तुलनामा बढेपछि सरकारको आर्थिक सल्लाहकार राष्ट्र बैंकले डलर सटही सुविधामा व्यापक कटौती गरेको हो। यो खबर आजको नागरिक दैनिकमा विष्णु बेल्वासेले लेखेका छन्।
राष्ट्र बैंकले यसअघि कुनै पनि नेपालीलाई भारतबाहेक तेस्रो मुलुक जाँदा दुई हजार पाँच सय अमेरिकी डलर सटही सुविधा दिँदै आएको थियो। अब कुनै पनि व्यक्तिले नगदमा एक हजार पाँच सय अमेरिकी डलरभन्दा बढी सटही सुविधा पाउने छैनन्।
राष्ट्र बैंकले यसअघि कुनै पनि नेपालीलाई भारतबाहेक तेस्रो मुलुक जाँदा दुई हजार पाँच सय अमेरिकी डलर सटही सुविधा दिँदै आएको थियो। अब कुनै पनि व्यक्तिले नगदमा एक हजार पाँच सय अमेरिकी डलरभन्दा बढी सटही सुविधा पाउने छैनन्।
चालु आर्थिक वर्षको दुई महिनामा विदेश जाने नेपालीसँगै १९ अर्ब रुपैयाँबराबरको अमेरिकी डलर बाहिरिएपछि राष्ट्र बैंकले सटही सुविधा कटौती गरेको हो। राष्ट्र बैंकले नगद सुविधाबाहेक टिटी सुविधा पनि घटाएको छ। यसअघि ४० हजार अमेरिकी डलरको टिटी सुविधालाई अहिले घटाएर ३० हजारमा झारेको छ।
राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले चालु खाता र शोधानान्तर स्थितिका कारण डलर सटही सुविधा कटौती गरिएको बताए। बैंकले कात्तिक २० देखि डलर सटही सुविधा कटौती गरेको हो।
‘हामीसँग पर्याप्त रकम सञ्चित भए पनि विगतका वर्षमा भन्दा केही रकम घटेकाले पूर्वसावधानी अपनाउन यस्तो व्यवस्था गरिएको हो,’ पौडेलले भने, ‘यो ज्वरो आएको व्यक्तिलाई पहिले एन्टिबायोटिक होइन सिटामोल दिएजस्तो हो।’ प्रवक्ता पौडेलले डलरकै कारण सवारीसाधन खरिदमा अब बैंकहरुले ५० प्रतिशतभन्दा बढी रकम कर्जा दिन नपाउने व्यवस्था गरेको जानकारी पनि दिए।



