काठमाडौं । नेपाली कांग्रेसले मंगलवार बिहान आकस्मिक बैठक बोलाएर ‘समुदायमा कांग्रेस’अभियान लगायत पार्टीका सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ । पार्टीका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधन भएपछि कांग्रेसले अभियानसहित पार्टीका सबै कार्यक्रम स्थगित गरेको हो ।
कांग्रेस शोकमा परेको उल्लेख गर्दै अभियानसहित कांग्रेसका सबै कार्यक्रम स्थगित भएको जानकारी दिइएको छ । आकस्मिक बैठकपछि पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पार्टीले बुढाथोकीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै २०८० माघ २३, २४ र २५ गते (तीन दिन)सम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयहरूमा झन्डा आधा झुकाउने र पूर्व निर्धारित सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।
यसैगरी २०८० माघ २४ गते बुधवारका दिन केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द गर्ने र तेह्रौं दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने जनाइएको छ । साथै तेह्रौं दिनमा सम्बन्धित जिल्ला झापामा शोक सभाको आयोजना गर्ने निर्णयमा उल्लेख छ
नेपाली कांग्रेसका केन्द्रीय सदस्य, संविधान सभा सदस्य एवं पूर्व सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीको विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा सोमबार माघ २२ गते निधन भएको हो ।
विसं २००१ साल असोज २२ गते पिता रणकेशर बुढाथोकी र माता नन्दकुमारी बुढाथोकीको सुपुत्रका रूपमा जन्मिएका बुढाथोकीले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेको कांग्रेसले जनाएको छ ।




