जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काठमाडौँले गर्‍यो अर्धवार्षिक समीक्षा (तस्बिरसहित)

काठमाडौं । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, काठमाडौँले अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेको केन्द्रले शनिबार राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र टेकुमा आर्थिक वर्ष २०८०∕८१ मा सम्पादित क्रियाकलापहरूको अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा बागमती प्रदेशको तर्फबाट स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य तालिम केन्द्र, स्वास्थ्य कार्यालय, काठमाडौं जिल्ला अस्पताल (टोखा चण्डेश्वरी अस्पताल)को उपस्थिति रहेको थियो । साथै विभिन्न स्थानीय तहका सामाजिक विकास समितिका संयोजकहरू तथा स्वास्थ्य शाखाका प्रमुखहरू समेतको उपस्थिति रहेको थियो ।

काठमाडौं जिल्लामा रहेका ११ वटा स्थानीय तह मध्ये १० वटा स्थानीय तहमा आयुर्वेदका स्वास्थ्य संस्था रहेका छन् । जसमध्ये कागेश्वरी मनोहरा नगरपालिका, नागार्जुन नगरपालिका, दक्षिणकाली नगरपालिका, चन्द्रागिरि नगरपालिका र कीर्तिपुर नगरपालिका मातहत १्र१ वटा गरी जम्मा ५ वटा आयुर्वेद औषधालयहरू सञ्चालनरत छन् ।

साथै बुढानीलकण्ठ नगरपालिका, गोकर्णेश्वर नगरपालिका, तारकेश्वर नगरपालिका र शङ्खरापुर नगरपालिकामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रद्वारा सञ्चालित नागरिक आरोग्य सेवा केन्द्रहरू सञ्चालनरत छन् । कार्यक्रममा यी १० वटा आयुर्वेद निकायहरूबाट यस आर्थिक वर्षमा सम्पादन गरेका स्वास्थ्य कार्यक्रमहरू तथा निरन्तर प्रवाह गरेका सेवाहरूको समीक्षा गरिएको थियो ।

नेपालको संविधानको धारा ३५ ले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा नि:शुल्क प्राप्त गर्ने एवं स्वास्थ्य सेवामा समान पहुँच प्राप्त हुने विषयलाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको छ । जनस्वास्थ्य सेवा ऐन, २०७५ ले प्रत्येक नागरिकलाई आयुर्वेद तथा अन्य मान्यता प्राप्त वैकल्पिक स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक उल्लेख गरेको छ ।

आधारभूत स्वास्थ्य प्याकेजका सेवाहरू अन्तर्गत आयुर्वेद तथा अन्य परम्परागत स्वास्थ्य सेवाहरूमा ‘पूर्व∕पञ्चकर्म’ (औषधियुक्त तेलले प्रभावित स्थानमा मालिस गर्ने र औषधिको वाफले सेक्ने), योग सेवा र सुत्केरी आमाको लागि शतावरी (कुरिलो) वितरण भनी उल्लेख गरिएको छ । उक्त सेवा स्वास्थ्य चौकी वा सो सरहका आधुनिक विधाका स्वास्थ्य संस्थाहरूबाट समेत उपलब्ध हुने भनी उल्लेख गरिएको छ । तसर्थ स्थानीय तह मातहत सञ्चालनरत आयुर्वेदका निकाय मार्फत समेत आधारभूत स्वास्थ्य सेवा सञ्चालनका लागि कार्यक्रममा सो सम्बन्धी अभिमुखीकरण समेत गरिएको थियो ।

उपलब्ध सेवाहरू

१ उपचारात्मक सेवा
-नियमित स्वास्थ्य परीक्षण
-चिकित्सकको प्रेषण बमोजिम नेपाल सरकारद्वारा निर्दिष्ट अत्यावश्यक आयुर्वेद औषधिहरूको निःशुल्क वितरण
-पूर्वकर्म⁄पञ्चकर्म सेवा (अभ्यङ्ग, स्वेदन, नस्य, अक्षीतर्पण, शिरोधारा) आदि
-अकुपञ्चर सेवा
-फिजियोथेरापी सेवा
-गर्भ संस्कार सेवा
-उपचारात्मक योग सेवा
-प्रयोगशाला सेवा (रगत, दिसा, पिसाब परीक्षण)

२.निःशुल्क स्वास्थ्य प्रवर्द्धनात्मक सेवा
-ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरी रसायन चिकित्सा र योगको माध्यमबाट स्वास्थ्य संरक्षण, प्रवर्द्धन र उचित परामर्श दिने ।
६ महिना सम्मको सुत्केरी आमालाई मातृशिशु स्वास्थ्य र स्तनपानको महत्त्व बुझाउन, आमा र बच्चाको स्वास्थ्य सुधार गर्न तथा कुपोषणबाट बचाउन, सुत्केरी महिलाको पर्याप्त दूध बढाउने औषधि वितरण गर्ने ।
-स्वस्थकर तथा रोगानुसार पथ्यापथ्य आहार विहार सम्बन्धी परामर्श
-योग सेवा 

उपचार तथा स्वास्थ्य सम्बन्धी थप सेवा र सल्लाहको लागि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र वा नजिकैको आयुर्वेद संस्थाहरूमा सम्पर्क गर्नु अनुरोध गरिएको छ । केन्द्रमा मुख्य रूपमा अम्लपित्त तथा अन्य पेट सम्बन्धी रोगहरू, हाडजोर्नी सम्बन्धी रोगहरू, श्वास(प्रश्वास सम्बन्धी रोगहरू, पिनास, मलद्वारका रोगहरू (पायल्स आदि), मधुमेह, उच्च रक्तचाप लगायत अन्य विभिन्न रोगहरूको उपचार गरिन्छ ।

विशेषज्ञ चिकित्सकद्वारा स्त्री तथा प्रसूति रोगको उपचार गरिन्छ । साथै गर्भिणी महिलाहरूका लागि गर्भ संस्कार सेवा समेत उपलब्ध रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काठमाडौँले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालले अनुदानमा मात्रै परियोजना अघि बढाउने : परराष्ट्रमन्त्री डा. राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले हाल ऋण लिन नसक्ने स्पष्ट पार्दै चीनसँग …

प्रतिकृया दिनुहॊस