अदालतमा बमजनको बयान सुरु, थुनछेक आदेश हुने

काठमाडौं । जिल्ला अदालत सर्लाहीमा तपस्वी रामबहादुर बमजनको बयान सुरु भएको छ । यसअघि फरार रहेका कारण उनको बयान नगराई अदालतमा अभियोग दायर गरिएको थियो ।

आफ्नै अनुयायीलाई यौन शोषण तथा जबरजस्ती करणी गरेको अभियोग उनी विरुद्ध लागेको छ ।

सोही अभियोगमा पक्राउ गरेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई बुधवार राति सर्लाही पठाएको थियो । जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालतमा उपस्थित गराएसँगै बमजनको बयान सुरु भएको प्रहरीले जानकारी दिएको छ ।

बयान सकिएलगतै उनको थुनछेक बहस सुरु हुनेछ । यदि बिहीबार नै थुनछेक बहस सकिएमा आदेश आउने सम्भावना छ । अदालतले पुर्पक्षका लागि बमजनलाई थुनामा पठाउने आदेश दिएमा उनलाई बिहीबार नै कारागार चलान गरिने छ ।

तर पुर्पक्षका लागि थुनाबाहिरै राख्ने आदेश दिएपछि बमजन थुनामुक्त हुने छैनन् । जिल्ला प्रहरी कार्यालय बाराले उनलाई उपस्थित गराउनका लागि अनुरोध गर्दै बिहीबार नै पत्र पठाउने भएको छ ।

‘बारा प्रहरीले यदि बमजन छुटी जाने भएमा उपस्थित गराइदिनु भन्दै पत्र पठाउने तयारी गरिरहेको छ’, बाराका एक प्रहरी अधिकारीले भने, ‘सर्लाहीको मुद्दामा छुट्ने अवस्था भएमा उनलाई बारामा ल्याइने छ ।’

बमजनविरुद्ध बारामा पनि एक अनुयायीलाई बेपत्ता बनाएको उजुरी परेको छ । बमजन पक्राउ नपर्दा उक्त उजुरीमा पनि अनुसन्धान अगाडी बढ्न सकेको छैन ।

बाराको मुद्दामा अनुसन्धान सकिएर थुनछेक आदेश भइसकेपछि अन्यत्र लगिने छ । उनी विरुद्ध तीन जिल्लामा मानिस बेपत्ता पारेको तथा जबरजस्ती करणी गरेको आरोपमा उजुरी परेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री