काठमाडाैं । निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्या अभियोगमा जेल सजाय भोगिरहेका समीरमान सिंह बस्नेतले जेलबाटै आपराधिक गतिविधि सञ्चालन गरेको खुलेको छ।
प्रहरीले सोही हत्या अभियोग लागेका तीनजनालाई पक्राउ गरेपछि बस्नेतले जेलबाटै फिरौती असुलीलगायतका आपराधिक गतिविधि सञ्चालन गरेको खुलेको हो। यो खबर आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन्। पछिल्लोपटक बस्नेतको निसानामा मिडिया सञ्चालक र अरु केही निर्माण व्यवसायी रहेको प्रहरीको दाबी छ। बस्नेत समूहबाट फोन आउन थालेपछि निर्माण व्यवसायी सुरक्षा माग्दै गृह मन्त्रालय पुगेका थिए।
उनीहरुको सूचनाका आधारमा महानगरीय प्रहरी अपराध महाशाखाले अनुसन्धान थालेको थियो। अनुसन्धानकै क्रममा महाशाखाको टोलीले गौचन हत्यामा संलग्न झापा बिर्तामोडका लोप्साङ भन्ने सोम तामाङ, काठमाडौं नागार्जुनका रोशन बुढाथोकी र उदयपुर रौताका अमरबहादुर रानालाई आइतबार राति पक्राउ गरेपछि बस्नेतको योजनाको खुलासा भएको हो।
प्रहरी स्रोतका अनुसार एक साताभित्रै प्रतिष्ठित ठेकेदार वा एक मिडिया सञ्चालकको हत्या गर्ने योजना बनेको थियो । ‘समीरले जेलबाट छुट्टाछुट्टै समूह बनाएर सञ्चालन गर्दोरहेछ। उसको योजनामा केही प्रतिष्ठित व्यक्तिको निगरानी गरेको पाइयो’, महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहले भने । पक्राउ परेका तामाङ, बुढाथोकी र राना बस्नेतकै सहयोगी हुन्।
मिडिया सञ्चालक वा निर्माण व्यवसायीमध्ये एकको हत्या गर्ने योजना बनाएर हतियार व्यस्थापनका लागि केही व्यक्ति खटिएको सूचनासमेत प्रहरीले पाइसकेको अवस्थामा उनीहरु पक्राउ परेको महाशाखाका एक अधिकारीले बताए।
‘जेलमा रहेका बस्नेतको निर्देशनमा काठमाडौं र भारतका विभिन्न स्थानमा बसेर उनीहरुले पैसा असुली गर्ने, धम्क्याउने र केही व्यक्तिको हत्या योजनासमेत बनाएको पाइयो’, एसएसपी सिंहले भने। प्रहरीले सोही विषयलाई लिएर बस्नेतकी श्रीमतीलाई समेत निगरानीमा राखेको छ।
बस्नेतकै निर्देशनमा काठमाडौंमा छुट्टै समूह र काठमाडौंबाहिर छुट्टै समूह बनाएर व्यवसायीको हत्या योजना बनाएको प्रहरीको दाबी छ। प्रहरीले पक्राउ परेका तीनैजनाले गौचन हत्यामा संलग्न रहेको स्वीकार गरिसकेको जनाएको छ।
गौचन हत्यामा रानाले मुख्य सुटरको भूमिका निर्वाह गरेका थिए। ०७३ चैत २९ गते बौद्धमा काभ्रेका गुन्डा नाइके दावा लामालाई गोली हान्ने घटनामा रानाकै संलग्नता रहेको थियो भने सोही वर्षको पुसमा रुपन्देहीका दुर्गा तिवारीको हत्यामा पनि उनी नै सुटर रहेको एसएसपी सिंहले बताए। राना नेपाली सेनाका भगौडा हुन्।



